नेपालले भारतको खड्को टार्न सकेन



नेपालकी अनिता बस्नेत रातो जर्सीमा भारतीय खेलाडीसँग बलको लागि जुझ्दै ।

रमेश समदर्शी, सिलिगुडी
नेपालले भारतसँग हारको खड्को टार्न नसक्दा चौथो साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

सोमबार सिलिगुडीको कन्चनजंगा रंगशालामा भएको खेलमा सोमबार भारतसँग ३–१ गोल अन्तरमा पराजित भएपछि नेपाल पहिलोपल्ट सेमिफाइनबाटै बाहिरिएको हो । अघिल्ला तीन संस्करणमा लगातार फाइनल पुगेको नेपाल च्याम्पियनसिपको चौँथो संस्करणमा भने अन्तिम चारमै स्तब्ध हुँदै घर फर्कियो । नेपाललाई तीनै संस्करणमा हराएको आयोजक टीम भारत भने लगातार चौँथो पटक फाइनल पुगेको छ ।

सुरुदेखि नै नेपालविरुद्ध हाबी भएको भारतका लागि पहिलो गोल खेलको ४४औँ मिनेटमा कमला देवीले गरेर थप दबाब दिइन् । मनिष पन्नाको पासलाई कमलादेवीले दायाँ भागबाट एक्लो प्रयासमा गोल गर्दा सयौँ नेपाली समर्थक निरास भए ।

पहिलो हाफमा १–० को अग्रता लिएको भारतले दोस्रो हाफपछि लगातार दुई गोल थपेको थियो । भारतीय मिडफिल्ड इन्दुमतीले खेलको ५९औँ मिनेटमा गोल थप्दै टीमलाई २–० को अग्रता दिलाइन् । नेपाली डिफेन्स र किपरलाई बिट गर्दै इन्दुमतीले गोल गरेकी थिइन् ।

खासै नेपालले भारतसँग उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपालको रक्षापंक्तिको लाइन कमजोर हुँदा भारतले थप गोल गर्ने अवसर पाएको थियो । नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी र सरु लिम्बूले राम्रा अवसर गुमाउनु पनि प्रतिकुल नतिजा लिन बाध्य भयो । सर्मिला थापाको स्थानमा सरुलाई सुरुआतमै नेपालका प्रशिक्षक कुमार थापाले मैदान पठाएका थिए ।

डि एरियामा मनिषा पन्नाको ह्यान्ड भएपछि नेपालले खेलको ७५औँ मिनेटमा पेनाल्टीको अवसर पायो । यो अवसरलाई सदुपयोग गर्दै सावित्राले गोल गरेर २–१ को स्थिति बनाइन् । उनको यो प्रतियोगितामा ११औं व्यक्तिगत गोल थियो । तर उनको गोलको खुसी धेरैबेर टिकेन । भारतीय स्ट्राइकर सुस्मिता मलिकले ८३औँ मिनेटमा गोल थप्दै ३–१ को अग्रता दिलाएपछि नेपालको यात्रा लगभग समाप्त भएको थियो । नेपाली टोलीले गोल गर्ने प्रयत्न गरे पनि सफल भएनन् ।

भारतसामु नेपाली डिफेन्सिभ कमजोर देखिन्थ्यो । सुटिङ पावर थिएन । यद्यपि नेपाली डिफेन्डरहरु हिराकुमारी भुजेल र मनमाया लिम्बूले लगभग गोल भइसकेको बललाई उत्कृष्ट बचाउको प्रयास भने गरेका थिए ।

यसअघि वान भर्सेज वानमा विपक्षीले डिएरियाभित्र सावित्रालाई लडाएको थियो । तर, रेफ्रीले सिमुलेटको आरोपमा उल्टै पहेँलो कार्ड दिँदा सबै असन्तुष्ट भए । नेपाली प्रशिक्षक थापाले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘हामीले पेनाल्टी पाउनु पर्ने थियो, रेफ्रीले गलत निर्णय लिए तर निर्णयप्रति हाम्रो सम्मान छ ।’

नेपाली टीमको खेल हेर्न नेपाली समर्थकको भिड लागेको थियो । पूर्वी नेपालका समर्थक सिलिगुडीको कञ्चनजंघा स्टेडियम पुगेका थिए । झापाको देही आर्ट ग्यालेरीका कलाकारले नेपाली टीमको समर्थन गर्ने दर्शकलाई अनुहारमा निःशुल्क पेन्टिङ गरेका थिए ।

भारतीय प्रशिक्षक सञ्जीव युसुफ दरले नेपाली खेलाडीले खेलमा सुधार ल्याएको प्रतिक्रिया दिए । उनले भने, ‘पहिलाभन्दा राम्रो प्रदर्शन गरे, आशा छ अझ सुधारिएको खेल हुन सकोस् ।’

प्रतिक्रिया दिनुहोस्