ऐतिहासिक स्यूराजको संरक्षण गर्दै नेपाली सेना



(सीताराम चौधरी)/ कपिलवस्तु, १७ पुस ।
दुई सय वर्ष पूरानो ऐतिहासिक स्थल स्यूराज क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले एक भव्य समारोहका बीच पार्कको उद्घाटन गरेको छ ।

नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीले आइतबार कपिलवस्तुको बहादुरगञ्ज १ स्थित कालिजंग गणद्वारा संरक्षित स्यूराज पार्कको उद्घाटन गर्नुभएको हो । सोही क्रममा प्रधाना सेनापति महारथी क्षेत्रले भावि पुस्तालाई नेपालको गौरबमय इतिहासको कालखण्डको झल्को दिने गरी यसको विकास र संरक्षण गर्न सुझाव दिनुभएको थियो ।

साथै उहाँले उत्खनन्का क्रममा फेला परी संरक्षण गरेको पूरातात्विक वस्तु, ऐतिहासिक कुवाँ, ऐतिहासिक व्यारेकको भग्नावशेष लगायतका वस्तुको अवलोकन गरेका थिए । अवलोकनपछि पार्कभित्र एउटा बिरुवा रोप्दै यसले भावि पिंढीलाई सधैं शितलता प्रदान गरोस् भनी कामना गर्नुभएको थियो ।

उद्घाटन समारोहमा सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती रीता क्षेत्री, राष्ट्र विकास तथा सुरक्षा महानिर्देशक उपरथी अनुज बहादुर बस्न्यात, पश्चिम पृतनापति उपरथी जगदीश चन्द्र पोख्रेल, २२ नम्बर बाहिनीपति सहायक रथी राजु बस्न्यात, नेपाली सैनिक ब्यारेक स्कूलका शिक्षाध्यक्ष महा सेनानी विनय विक्रम राणा, सह सैनिक सहायक महासेनानी मधुकर सिंह कार्की, २२ नम्बर बाहिनीका सहायक बाहिनीपति महासेनानी ध्रुब प्रकाश शाहले समेत एक एक ओटा विरुवा रोपेका थिए ।

यस्तै कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोज जंग शाह, इलाका प्रशासन कार्यालयका प्रमुख एवं उपसचिव मेघनाथ पाध्या, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, स्थानीय उद्योगी, व्यापारी, बुद्धिजिवी, नेपाल राष्ट्रिय भूपू सैनिक संघका जिल्ला सभापति, पूर्व सैनिक लगायतको सहभागिता रहेको थियो ।

जिल्लाको बहादुरगञ्ज १, स्थित रामगोरखा उमाविको उत्तरपट्टिको महत्वपूर्ण गौंडाको रुपमा प्रयोग हुँदै आएको झण्डै साढे ३ विगहा जग्गामा नेपाली सेनाको कालीजंग गणले स्यूराज पार्कको निर्माण गरी संरक्षण गरेको हो । सरसफाई तथा उत्खनन्का क्रममा त्यस स्थानमा फेला परेको ६३.८ फिट लम्बाइ र ३८.६ फिट चौडाइ भएको ब्यारेकको भग्नावशेष भएको स्थानमा स्यूराज पार्कको निर्माण गरिएको कालिजंग गणका गणपति प्रमुख सेनानी पदम बहादुर बुढाले जानकारी दिनुभयो ।

ब्यारेकको दक्षिणपूर्व दिशामा भेटिएको करीब २१ फिट गहिरो कुवाँको सरसफाई गरी संरक्षण गरिएको प्रमुख सेनानी बुढाले बताउनुभयो । ब्यारेक उत्खनन् र कुँवा सरसफाइका क्रममा भवनको पुरानो भग्नावशेष, पुराना इँट्टाहरु र कुवाँमा फेला परेको फलामको गाग्री लगायतका ऐतिहासिक सामग्रीको संरक्षण गरिएको छ ।

ऐतिहासिक रुपले महत्व बोकेर पनि लामो समयसम्म इतिहासकै पानामा सीमित रहेको यस स्थानलाई मर्मत सम्भार गरी एउटा स्मारकको रुपमा विकास गरी ऐतिहासिक सम्पदाको जगेर्ना गर्ने लक्ष्यका साथ नेपाली सेना स्यूराज पार्कको निर्माण गरेको कालीजंग गणका गणपति बुढाले बताउनुभयो । गत असार २४ गते सेनाका पश्चिम पृतनापति उपरथी रमेश कुमार पुनले पार्कको सिलन्यास गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा तत्कालिन पाल्पा राज्यको मौजाको रुपमा रहेका स्यूराज र बुटवल अंग्रेजसँगको युद्धमा जीत हासिल गरी नेपाल सरकारले आफ्नो पकडमा लिएको इतिहासलाई झल्को दिंदै नाटक प्रदर्शन गरिएको थियो । स्यूराज मौजा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले नेपाली सेनाको कालीजंग गणले स्यूराज पार्कको रुपमा यसको जगेर्ना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्