इन्डोनेरियामा पर्यटक चढेको डुङ्गामा आगलागी हुँदा तेइसको मृत्यु



 

जकार्ता (इन्डोनेसिया), १७ पुस । इन्डोनेसियाको राजधानी जकार्ताबाट उत्तरमा अवस्थित एक पर्यटकीय टापुमा नयाँ वर्षको बिदा मनाउन हिँडेका पर्यटक चढेको डुङ्गामा आगलागी भएपछि यसमा सवार २३ जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।

घटनामा अन्य १७ जना बेपत्ता भएको र १९४ जनालाई उद्धार गरिएको छ ।

यात्रारत डुङ्गामा एक्कासी आगोको ज्वाला निस्किएपछि यात्रुहरु ज्यान जोगाउन समुद्रमा हामफालेको राष्ट्रिय विपद् व्यवस्थापन संस्थाले जनाएको छ ।

डुङ्गा किनारबाट छुटेको करिब १५ मिनेटपछि डुङ्गामा आगलागी भएपछि यात्रुहरु लाइफ ज्याकेटका लागि सङ्घर्ष गरेका र कतिपय यात्रु आत्तिएर लाइफ ज्याकेटविना नै समुद्रमा हाम फाल्दा ठूलो क्षति भएको इन्डोनेसियाली प्रहरीले बताएको छ ।

अधिकांश यात्रुलाई सँगै सोही बाटो हिँडिरहेका माझीले उद्धार गरेका थिए । इन्डोनेसियामा डुङ्गा दुर्घटनाका कारण बर्सेनि सयौँ मानिसले ज्यान गुमाउने गर्छन् । रासस/एएफपी

तस्बिरः बीबीसी

प्रतिक्रिया दिनुहोस्