चिसो अचाक्ली, जनजीवन अस्तव्यस्त



ठाउँ–ठाउँमा हिमपात र
वर्षा, भूकम्पपीडितको कन्तबिजोग
नेपाल समाचारपत्र
काठमाडौं
श्चिमी वायु प्रणालीको प्रभावले चिसो अचाक्ली बढ्नुका साथै राजधानीको चन्द्रागिरीसहित देशका विभिन्न ठाउँमा हिमपात भएको छ। भूकम्पले घर भत्किई छाप्रोमा बसिरहेका भूकम्पपीडितको चिसोका कारण कन्तबिजोग भएको छ। मुलुकको पश्चिम भागमा भने आज सोमबारदेखि नै मौसममा सुधार आउने जनाइएको छ।

युरोपेली मुलुकबाट नेपाल भित्रिएको वायुले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको हो। काठमाडौंसहितका पहाडी भेगमा हल्का वर्षासमेत भएको छ। युरोपबाट पूर्वतिर बहने हावा सिरिया, इरान, इराक, अफगानिस्तान, पाकिस्तान तथा उत्तरपश्चिम भारतीय क्षेत्र हुँदै नेपाल भित्रिएको वायुले अहिले चिसोसँगै वर्षा र हिमपात गराएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले जानकारी दिनुभयो। ‘पाकिस्तान र भारतको हिमाली भेग भएर बहने हावा नेपाल भित्रिँदा अहिले एक्कासि चिसो बढेको हो, तर यो स्वाभाविक प्र्रक्रिया पनि हो’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

शनिबार अपराह्नपछि चिसो बढेसँगै धेरै स्थानको न्यूनतम तापक्रम माइनसमा झरेको छ भने पहाडी भेगका अन्य क्षेत्रको तापक्रमसमेत घटेको छ। आइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस ३, जोमसोम माइनस २, जिरी शून्य दशमलव १, दीपायल ४ दशमलव २, काठमाडौं तथा ताप्लेजुङको न्यूनतम तापक्रम ५–५ डिग्री सेल्सियस कायम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ। आज सोमबारसमेत काठमाडौं उपत्यकासहित अन्य पहाडी भेगको मौसममा सुधार आउने संकेत नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पश्चिम, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम बदलिएर हल्का वर्षासमेत हुने लक्षण कायम छ, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना यथावत् छ।’ भोलि मंगलबार अपराह्नपछि मध्य र पश्चिमी क्षेत्रको मौसममा क्रमिक सुधार आए पनि पूर्वी भेगको मौसम भने खासै नखुल्ने पौडेलले बताउनुभयो। शनिबारयता उच्च पहाडी भेगहरूमा हल्का हिमपात भइरहेको छ। आइतबार काठमाडौंसँगैको चन्द्रागिरी, काभ्रे र सिन्धुपाल्चोकका उच्च पहाडी भेग, हेटौंडाको सिमभञ्ज्याङ, गोरखाको बारपाक, जोमसोम, जिरी, रसुवा, सुदूरपश्चिमका दार्चुला र आसपासका उच्च पहाडी भेगमा हल्का हिमपात भएको थियो।

त्यसै गरी काठमाडौं, जोमसोम, लुम्ले, ताप्लेजुङ, जिरी, जनकपुर, धरान, ओखलढुंगा, डडेलधुरामा आइतबार हल्का र मध्यमस्तरको वर्षा भएको महाशाखाले जनाएको छ। भू–मध्य सागर, क्यास्पियन सागर र ब्लाक सीबाट नेपाल भित्रिने जलवास्पयुक्त हावाको अवस्था कमजोर रहेकाले अहिले हिउँदेवर्षा कमजोर बनेको वरिष्ठ मौसमविद् शाक्य बताउनुहुन्छ।

यसैबीच दोलखा संवाददाताका अनुसार दोलखाको उच्च हिमाली भेगमा हिमपात भएको छ। दोलखाको कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, च्योर्दुङलगायतको उच्च भेगमा हिमपात भएको स्थानीयले बताएका छन्। जिरीकै पटासे, ठूलोढुङ्गा, काप्ती, हनुमन्तेलगायतको क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन्। हिमपातका कारण चरिकोट, जिरी, कालिञ्चोकलगायतको क्षेत्रमा जाडो बढेको छ। भूकम्पका कारण टहरामा बसेका ग्रामीण क्षेत्रका बुढाबुढी तथा बालबालिकाहरू हिमपातपछि बढेको चिसोले प्रभावित भएको स्थानीयको भनाइ छ।

दोलखाको उच्च भेगमा हिमपात भए पनि आवागमन तथा अन्य कुरा भने प्रभावित नभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए। कपिलवस्तु संवाददाताका अनुसार लगातारको शीतलहर र चिसोका कारण जिल्लाका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएका छन्। वर्षे बिदामा कटौती हुने गरी अहिले बिदा दिइएको जनाइएको छ। जाडोका कारण सरकारी कार्यालयमा पनि सेवाग्राहीको न्यून उपस्थिति रहेको जनाइएको छ। यस्तै स्थानीय संवाददाताहरूका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्लालगायतका जिल्लामा पनि अत्यधिक जाडोका कारण जनजीवन अस्तव्यस्त भएको छ।

जुम्लाको तापक्रम ५ दशमलब ५ डिग्री सेन्टीग्रेडसम्म पुगेको छ। जाडोले गर्दा निमोनिया, दम, रुघाखोकीजस्ता रोगका बिरामीहरू बढ्न थालेका छन्।तापक्रम घटेकाले प्रिन्टर, फोटोकपी, प्mयाक्सलगायतका सामानले पनि काम नै गर्न छाडेको बताइएको छ।

रसुवा संवाददाताका अनुसार रसुवाको उत्तरी भागका आठ गाविसमा आइतबार दिउँसोबाट हिमपात भएको छ। जिल्लाको लाङटाङ, गत्लाङ, चिलिमे थुमन, टिमुरे, स्याफ्रु गाविसको गोसाइकुण्ड तथा चन्दनबारी क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै चिसो बढेपछि भूकम्पपीडित समस्यामा परेका छन्। भूकम्पले घर ढलेपछि अस्थायी टहरामा बसिरहेका भूकम्प प्रभावित बालबालिका तथा वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्।

काभ्रे संवाददाताका अनुसार जिल्लाको अग्लो स्थान बेथान्चोक नारायणस्थान तथा ढुंखर्क गाविसमा आइतबार हिउँ परेको छ। हिउँका कारण सर्वसाधारणको दैनिक जीवन असहज भए पनि त्यसले उत्पादनमा सहयोग पुर्याउने सोही क्षेत्रका वृद्धहरूले बताएका छन्।

बेथान्चोक नारायणस्थानमा हरेक वर्ष हिउँ पर्ने गरेको भए पनि ढुंखर्क गाविस र आसपासका क्षेत्रमा बाक्लै गरी हिउँ नपरेको केही वर्ष भइसकेको थियो। शनिबार दिउँसोबाट धमिलो भएको मौषम आइतबार दिउँसोसम्म आइपुग्दा उक्त क्षेत्रमा हिउँ पर्ने अवस्थामा पुगेको हो। हिउँको मज्जा लिन सदरमुकाम तथा जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणहरू ढुंखर्कमा पुगेको बताइएको छ। ढुंखर्कमा होमस्टेसमेत भएकाले हिउँ खेल्न जानेहरूका लागि न्यानो बनाउन स्थानीयहरूले तयारीसमेत गरेका थिए।

हिउँका कारण भूकम्पपीडितहरू थप संकटमा परेका छन्। जस्ताको टहराभित्र बसिरहेका पीडितहरूको हिउँको चिसोका कारण विचल्ली भएको हो। विशषे गरी बालबालिका, वृद्ध र गर्भवती तथा सुत्केरीहरू हिउँका कारण समस्यामा परेका छन्। जिल्लाको विभिन्न स्थानमा सिमसिम पानीका कारण चिसो बढेको छ।

पर्वत संवाददाताका अनुसार मुस्ताङमा आइतबार दिउँसोदेखि हिमपात भएको छ।जिल्लाको सदरमुकाम जोमसोमसहित १६ वटै गाविसमा परेको हिमपातपछि जनजीवन प्रभावित भएको छ। हिमपातसँगै यातायातका साधनसमेत अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन्।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, घमि, सुर्खाङ, चराङ, लोमान्थाङका साथै म्याग्दी जिल्लासँग सीमा जोडिएको लेते गाविसमा समेत बिहानदेखि लगातार हिमपात भइरहेको छ। अहिलेसम्म ३ इन्च जति हिउँ जमेको छ। हिमपातबाट उत्तरी मुस्ताङदेखि सबै जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ पुगेका तीर्थालु र पर्यटकहरू समस्यामा परेका छन्। धेरै संख्यामा नभएपछि मुक्तिनाथ पुगेका तीर्थालुहरू त्यही रोकिएका छन्। यो मौसममा पनि दक्षिण भारतबाट ठूलै संख्यामा तीर्थालुहरू आउने गरेका थिए। मुक्तिनाथमा होटल सञ्चालक तथा गाउँ मुखिया सुरज गुरुङका अनुसार भारु सटहीको समस्याका कारण ठूलो संख्यामा भारीय तीर्थालु नआए पनि आएकाहरू हिमपातपछि रोकिएको बताए। ‘यसपटक भारु सटहीको समस्याले धेरै आएका छैनन्’ उनले भने ‘रातभर पनि हिमपात भयो भने आएकाहरूलाई फर्कन समस्या हुन्छ’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले अहिलेसम्म तीर्थालु र अन्य पर्यटक समस्यामा परेको जानकारी नआएको बताए। उनले आवश्यक पर्दा उद्दारका लागि सबै निकाय तयार अवस्थामा रहेको पनि जानकारी दिए।
एक्कासि चिसो बढेसँगै भएको हिमपातपछि आवतजावतमा समेत समस्या भएको निरज थकालीले बताए। उनका अनुसार जोमसोममा बिस्तारै बाक्लो हिमपात भएपछि सर्वसाधारण, पर्यटक घरभित्र बसेका छन्। यसैबीच म्याग्दीको उच्च हिमाली भेगमा परेको हिमपातले जनजीवन प्रभावित बनाएको छ। सिमसिम पानीसंगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङलगायतका हिमाली बस्तीमा समान्य हिमपात भएको छ। सदरमुकाम बेनीबजारमा समेत वर्षा भएको छ।
मनाङको सदरमुकाम चामेसहित तिमाङभन्दा माथिका क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भएको स्थानीय मीनकाशी गुरुङले जानकारी दिइन्। पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हिमपातसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ।हिमपातका कारण मनाङ र मुस्ताङ पुगेका र पुग्न चाहने पर्यटकहरूले यात्रा रोकेका छन्।

प्रतिक्रिया दिनुहोस्