माझफाँट गाविसमा एक घर एक धारा अभियान



दुर्गाप्रसाद शर्मा, पर्वत
व्यवस्थित शहरबजार जस्तै पर्वतको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ। उत्तरी पर्वतको माझफाँट गाविसका ८ सय घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो।

गाविसमा सञ्चालित पुङ्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत् गाउँका ३ देखि ७ नं. सम्मका वडा गरी ५ वटा वडाका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ। अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतले जनाएको छ।

अहिलेसम्म कुवा वा धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट वञ्चित बनेका मल्लाजबासी अब भने लाभान्वित हुने भएका छन्। जिल्लाकै दोस्रो ठूलो योजनाका रूपमा रहेको उक्त खानेपानी आयोजना विस्तार भएपछि प्रत्येक घरमा आवश्यकताका आधारमा धारा जडान हुनेछ र उपभोक्ताले युनिटको आधारमा पैसा तिर्नुपर्ने छ। उक्त पानी झन्डै १२ किलोमिटर टाढा रहेको पुङ्दीखोलाबाट ल्याउन लागिएको हो।

अहिले आयोजनाको काम धमाधम भइरहेको छ। २०६७⁄०६८ बाट शुरु भएको योजना ५ वर्षमा सम्पन्न हुने गरी क्रमगतरूपमा सञ्चालन भएको थियो। ४ करोड ९३ लाखको लागतमा निर्माण हुन लागेको उक्त योजनामा स्थानीयबासीले झन्डै ३९ लाख बराबरको श्रमदान गरेका छन्। पाइपलाई विस्तार र विभिन्न ट्यांकी निर्माणमा स्थानीय श्रमदानसमेत गरिरहेका छन् भने ८० जनाभन्दा बढी मजदुर क्रियाशील रहेको निर्माण व्यवसायी गिरिजा तिवारीले जानकारी दिनुभयो। चालू आवभित्रमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको तिवारीले जानकारी दिनुभयो। योजनाको लागतअनुसार बजेट कम भएको र भिरालो जमिनमा काम गर्नुपर्दा असहजता पैदा भएको उहाँको भनाइ छ।

एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरूप बृहत् खानेपानी योजनामा समेटिएको उक्त योजनाको काम दू्रत गतिमा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो। उहाँका अनुसार योजनालाई चालू आवभित्रै सम्पन्न गर्नका लागि यस वर्ष ८० लाख विनियोजन भएको छ।

योबाहेक पर्वतको फलेवासमा ७ करोडको लागतमा बृहत् फलेवास खानेपानी योजना पनि विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ। उक्त योजना निर्माण सम्पन्न भएपछि माझफाँट गाविसका सबैजसो घरधुरी लाभान्वित हुने अपेक्षा कार्यालयले लिएको छ। जिल्लाको सबैभन्दा बढी जनसंख्या रहेको उक्त गाविसमा यो खानेपानी योजना निर्माणपश्चात् नमुनाकै रूपमा लिन सकिने उहाँ बताउनुहुन्छ।

घर–घरमा धारा जडान गर्नका लागि आवश्यक खर्च पनि स्वयं उपभोक्ताले तिर्नुपर्ने भएको छ। अहिले उक्त योजना व्यवस्थापन समितिले एक धारा बराबर ७ हजार तोकिसकेको छ। सदरमुकाम कुस्मा बजारमा प्रतिधारा जडान शुल्क ३० हजारभन्दा बढी रहेका बेला ग्रामीण क्षेत्रमा विस्तार गर्न लागिएको योजनामा तत्कालका लागि ७ हजार तोकिएको समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सबै उपभोक्ताको सहभागितामा धाराको मूल्य तोकिएको हो।

प्रतिक्रिया दिनुहोस्