खर–खडाईका लागि बर्दिया निकुञ्जमा प्रवेश खुला



विष्णु तिमिल्सिना, बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्जले शनिबारदेखि खर–खडाईका लागि निकुञ्जभित्र प्रवेश खुला गरेको छ। ग्रामीण भेगमा रहेका मध्यवर्ती क्षेत्रका स्थानीयबासीको घर निर्माणका लागि आवश्यक पर्ने खर, वनकस (बाबियो) काट्न हरेक वर्षझैं यस वर्ष पनि खर–खडाईका लागि निकुञ्जले प्रवेश खुला गरेको हो। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका स्थानीय समुदायहरूका लागि खर–खडाई काटी निकासी गर्ने सुविधा प्रदान गरिने भएको हो।

यस वर्ष निकुञ्जको गेरुवा नदी तटीय क्षेत्र र पूर्व–पश्चिम राजमार्ग आसपासका विभिन्न भागमा जंगली हात्तीका बथान लगातार विचरण गरिरहेको पाइएकाले चौतर्फी मानवीय गतिविधि हुँदा हात्ती भाग्ने ठाउँ नपाई दुर्घटना हुन सक्ने भएकाले खर–खडाई काट्ने प्रयोजनका लागि ३ खण्डमा विभाजन गरेर स्थानीय समुदायलाई खर–खडाई काट्ने सुविधा प्रदान गर्ने निर्णय भएको निकुञ्जले जनाएको छ।

बिहान सूर्योदयदेखि सूर्यास्तसम्म निकुञ्जभित्र रहेका खर, खडिया, बाबियो, मुँज, सिँठा मात्र काट्न पाउने गरी पहिलो चरणमा १६, १७ र १८ गते गेरुवा नदी पश्चिमका गोला, पाताभार, पशुपतिनगर र मनाउ गाविसका उपभोक्ताका लागि निकुञ्ज खुला गरिएको छ। यस्तै दोस्रो चरणमा बबई नदी पूर्व र उत्तरी क्षेत्रका उपभोक्ताका लागि १९, २० र २१ गते तथा तेस्रो चरणमा २२, २३ र २४ गते गेरुवा र बबई नदीबीचका उपभोक्ताका लागि निकुञ्ज खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी गराउनुभएको छ।

घर छाउन, घरका भित्ता बेर्न, खटिया, भकारी बनाउन, पशु चौपाय बाध्ने डोरीलगायतका काममा प्रयोगमा आउने खर–खडाई काट्न स्थानीयबासी हरेक वर्ष जोखिम मोलेर निकुञ्जभित्र पस्ने गर्छन्। निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाको सुविधाका लागि प्रत्येक वर्ष खर–खडाई काट्न प्रवेश खुला गर्दै आएको छ।
पहिलो दिन शनिबार मात्र ७ हजार मानिस निकुञ्जभित्र प्रवेश गर्ने निकुञ्जले जनाएको छ। मध्यवर्ती क्षेत्रका झन्डै ३० हजार बढी मानिस खर–खडाईका लागि निकुञ्ज प्रवेश गर्ने गर्छन्।

खर–खडाईका लागि निकुञ्ज पसेका बेला निकुञ्जभित्रका जंगली हात्ती, बाघ, गैंडा, भालुलगायतका वन्यजन्तुको आक्रमणमा परी वर्षेनि स्थानीय बासिन्दाले ज्यान गुमाउने र घाइते हुनुपर्ने समस्या छ।
निकुञ्जभित्र रहेका बाघ, हात्ती, गैंडालगाएतका वन्यजन्तुबाट सावधानी अपनाएर प्रवेश गर्नुहुन र खर, खडिया, बाबियोबाहेक अरू काठ, दाउरा निकासी नगर्न सबैमा निकुञ्जले आग्रहसमेत गरेको छ। व्यक्ति तथा वन्यजन्तु सुरक्षाका लागि करिब ८० जनाको ७ वटा सुरक्षा गस्ती टोली खटाइएको छ। जसमा नेपाली सेना तथा निकुञ्जका कर्मचारी उक्त टोलीमा संलग्न रहेको कुरा प्रमुख वन्यजन्तु अधिकृत रमेश थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्