राजमार्ग बन्द गरेर महोत्सव यात्रुलाई सास्ती



रोशन पराजुली, हेटौंडा
हेटौंडाको मुख्य बजारमा २ दिन राजमार्ग पूरै बन्द गरेर ‘सडक खाना महोत्सव’ गरियो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको मुख्य बजारमा रहेको सीमाचोकदेखि बुद्धचोकसम्म राजमार्ग छेकेर शुक्रबार र शनिबार महोत्सव गरिएको हो।

कुनै समय कुनै बहानामा राजमार्ग बन्द गर्न नपाइने कानुनी व्यवस्था छ। तर, त्यसलाई लत्याउँदै २ दिन खाना महोत्सवका नाममा राजमार्ग बन्द गर्दा आमनागरिक, सवारीचालक र यात्रुले परको बाइपास सडकमा लामो समय जाममा बस्नुपर्यो।

राजमार्ग कसैले कुनै कारण बन्द गरे जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक मुद्दा चलाउने गर्दछ। तर, २ दिन राजमार्गमै ‘महोत्सव’ चलिरहँदा प्रहरी नै राजमार्ग छेकेर सर्वसाधारण र सवारीलाई बाइपासबाट जान निर्देशन दिइरहेका देखिन्थे।

राजमार्ग कुनै समय बन्द गर्न नपाइने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताएका छन्। उनले यसो भनिरहँदा महोत्सव चलेको राजमार्गमा भने ट्राफिक प्रहरीले नै सवारीसाधनलाई बाइपासबाट जान सिट्ठी फुकेर निर्देशन दिइरहेको दृश्य देखिन्थ्यो।

मुख्य राजमार्ग बन्द हुँदा बटुवादेखि साना–ठूला सवारीसाधनका हजारौं यात्रुले जाममा बस्नुपर्ने बाध्यता भोग्नुपर्यो। बजार क्षेत्रमा सडक बन्द गरिँदा स्कुलरोड र कान्तिलोकपथको भित्री सडक भएर ओहोर–दोहोर गर्दा एक किलोमिटर यात्रा गर्न आधा घन्टा जाममा बस्नुपरेको हेटौंडा–४ का विदुर सापकोटा बताउँछन्।

नयाँवर्षका अवसरमा होटल एसोसिएसन मकवानपुरले राजमार्ग बन्द गरेर खाना महोत्सव गरेको हो। काठमाडौंलगायत नगरमा सडकमा मेला⁄महोत्सव गर्न प्रहरीले निषेध गरेको छ। ‘जिल्ला प्रशासनको लिखित स्वीकृतिमा राजमार्गमा महोत्सव गरिएको हो’ –आयोजक होटल एसोसिएसन मकवानपुर अध्यक्ष भागिरथ शर्माले भने। प्रशासनको स्वीकृतिपछि महोत्सव गरिएको उनले बताए।

महोत्सव गर्न स्वीकृति पाएसँगै प्रहरीलाई पनि शान्ति सुरक्षाका लागि प्रशासनले पत्र दिएको शर्माले दाबी गरे। राजमार्ग बन्द गर्नेलाई प्रशासनले नै सार्वजनिक मुद्दा चलाउने कानुनी व्यवस्था रहे पनि ८ वर्षअघिदेखि महोत्सव गरिँदै आएकाले परम्परा धान्नका लागि यसपटक पनि महोत्सव गरिएको उनले प्रस्टइए।

महोत्सव वर्षौंअघिदेखि गर्दै आएको भन्दै माग आएपछि यो वर्ष ‘अन्तिम पटक’ उक्त क्षेत्रमा गर्न दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले स्पष्ट पारे।

एकातिर राजमार्ग फराकिलो बनाउन ३ दिनअघिदेखि सरकारी कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना भत्काइरहेका बेला मुख्य सडक बन्द गरेर ‘होटल’ चलाइयो। महोत्सवमा रमाउनेलाई सडक, नजिक र सहज बने पनि राजमार्ग बन्द हुँदा यात्रु आक्रोशित भएका थिए।

हेटौंडामा खाली क्षेत्र अरू पनि भएकाले अबका दिनमा मुख्य सडकमा महोत्सव गर्न नदिइने प्रजिअ दुवाडीले बताए। बुद्धचोकदेखि स्कुलरोडसम्म करिब २ सय मिटर क्षेत्रमा सञ्चालित महोत्सवमा सडकमा खानाका परिकारका स्टल राखिएका थिए। सडकबाट केहीभित्र स्टेज कार्यक्रम गरिँदा त्यस क्षेत्रका अन्य व्यापारीले असन्तुष्टि व्यक्त गरेका छन्।

हेटौंडा बजार क्षेत्रमा सडक फराकिलो पार्ने अभियान चलिरहँदा होटल व्यवसायीले सडकमा बार लगाएर महोत्सव गर्दा क्षेत्रीय प्रशासक विनोद केसीको ‘सडक विस्तार अभियान’ लाई चुनौती दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्