विप्लव माओवादी महाधिवेशनको तयारीमा



नरेन्द्र केसी, घोराही, दाङ
नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा माओवादी आठौं महाधिवेशनको तयारीमा जुटेको छ। जसअनुसार अहिले देशव्यापी जिल्ला सम्मेलन भइरहेको सो पार्टीले जनाएको छ।

माओवादीको आठौं महाविधेशन फागुन १ गते राजधानीको खुला मञ्चमा उद्घाटन गर्ने र फागुन ३ गतेदेखि थवाङमा बन्दसत्र शुरु गर्ने कार्यक्रम छ। त्यसका लागि सांगठिनक र भौतिक दुवै तयारी भइरहेको स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले जानकारी दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सांगठिनकरूपमा अहिले देशव्यापी जिल्ला सम्मेलन भइरहेका छन् भने भौतिकरूपमा सभाहल बनाउने काम पनि शुरु भएको छ।’ माओवादीले थवाङमा झन्डै १ करोडको लगानीमा पक्की र स्थायी सभाहल बनाउने तयारी थालेको छ।

महाधिवेशनबाट नयाँ कार्यदिशा अंगाल्ने ओलीले बताउनुभयो। उहाँले दर्शन, संगठन र कार्यदिशा तीनवटै क्षेत्रमा नयाँ प्रयोगका साथ अघि बढ्ने गरी बहस खुला गरेको जानकारी दिनुभयो। ‘हामीले पार्टीको कार्यदिशा नयाँ बनाउन खोजेका छौं’, उहाँले भन्नुभयो– ‘जनयुद्ध र जनविद्रोहको कार्यदिशा विकास गरेर एकीकृत जनक्रान्तिको कार्यदिशा समृद्ध बनाउने काम महाधिवेशनले गर्नेछ।’ नेता ओलीले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादलाई स्पष्टरूपमा अघि सार्दै पार्टीको दर्शन, संगठन र अर्थनीति पनि नयाँ बनाउने गरी छलफल अघि बढाइएको बताउनुभयो।

‘पार्टीमा सधैंभरि एउटै नेतृत्व रहँदा क्रान्तिलाई धोका हुने इतिहासबाट पाठ सिकेर हामीले संगठनमा नयाँ रूप दिने सोचेका छौं’, उहाँले भन्नुभयो– ‘पार्टीलाई विपरीतको एकत्व भन्दै सधैं विजातीय तत्त्वहरूलाई बोकेर राख्ने होइन, विचार र भावना मिल्नहरूको सुदृढ एकता भएको पार्टी बनाउन चाहन्छौं।’ विगतमा प्रचण्डले विपरीतको एकत्वको नाममा बाबुराम भट्टराईलाई बोकेर राख्दा क्रान्तिले धोका पाएको पनि उहाँले बताउनुभयो।

साम्राज्यवाद एकीकृतरूपमा आएकाले अब कम्युनिस्ट शक्ति पनि एकीकृत क्रान्तिकै कार्यदिशामा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अन्धराष्ट्रवादले बढावा पाएको उल्लेख गर्दै उहाँले अमेरिका, रुस र चीनमा देखिएका अन्धराष्ट्रवादका तेस्रो विश्वयुद्धको खतरा बढेको दाबी गर्नुभयो।

राष्ट्रिय राजनीतिबारे बोल्दै उहाँले संविधान संशोधन प्रस्ताव र यसको विरोधमा भइरहेका गतिविधि दुवै नाटक भएको बताउनुभयो। ‘यी सबै बेचिएका मान्छे हुन्, बेचिएका मान्छेहरूबीच राष्ट्रवादी बन्ने प्रतिस्र्धाको कुनै तुक छैन, यो सबै नाटक हो’ –उहाँले भन्नुभयो।

माओवादी जिल्ला सेक्रेटरीमा पुनः ओली
माओवादी दाङको आठौं जिल्ला सम्मेलनबाट सेक्रेटरीमा पुनः बलबहादुर ओली ‘शीतल’ चयन हुनुभएको छ। सम्मेलनले दुई सदस्य पछि थप गर्ने गरी ५५ सदस्यीय जिल्ला समिति सहमतिमा चयन गरेको छ। नवनिर्वाचित सेक्रेटरी ओलीले जिल्लाका व्यथितिविरुद्ध लाग्ने बताउनुभयो। सम्मेलनले सिमेन्ट उद्योगहरूले स्थानीयबासीसँग गरेका सम्झौता कार्यान्वायन नगरेको भन्दै तत्काल सम्झौता कार्यान्वायन गर्न आग्रह गरेको छ। त्यस्तै देउखुरीको टिकुलीगढीलगायतका ठाउँमा किसानलाई सुकुम्बासी बनाउने गरी सरकारी निकायबाट चालिएको कदमको विरोध गर्दै जनयुद्धकालमा किसानले कब्जा गरेका जग्गामा प्लटिङ गर्ने षड्यन्त्र भएकाले तत्काल यो काम रोक्न र किसानहरूलाई बेदखल नगर्न सम्मेलनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्