लक्ष्मी हत्या प्रकरण ‘पोलिग्राफ बयानमा श्रीमान्ले कुटेको प्रमाणित’



मोतीराम तिमल्सिना, काभ्रे
सानो वाङ्थली गाविस–७ की ३२ वर्षीया लक्ष्मी परियारलाई पछिल्लोपटक उनकै श्रीमान्ले कुटेको पोलिग्राफ बयानमा खुलेको छ। श्रीमान् मिलन परियारले कुटिरहेको देख्ने व्यक्तिसहित प्रहरीले घटनाका बारेमा २१ जनाको बयान सकाएको छ।

उनका छोरा सुमनले समेत आमालाई धकेलिरहेको अवस्थामै आफू गाई बिक्री गर्न गएको अवस्थामा के भयो थाहा नभएको बयान दिएका छन्। ‘बाबु–आमाको झगडा भइरहँदा बाबु मिलनले आमा लक्ष्मीलाई धकेलेको देखेको हुँ, त्यसपछि मलाई बाबाले गाई बिक्री गर्ने विषयमा सोध्न पठाउनुभयो। एक घन्टामा घरमा आउँदा रगत पनि देखें, पोतेको गेडा पनि देखें, कसरी त्यस्तो भयो थाहा भएन। हामी साना साना छोराहरूको अनुहार हेरेर भए पनि बाबुले कुटेर मार्नु नपर्ने हो ?’ –छोरा सुमनले बयान दिएका छन्। घटनाको प्रत्यक्षदर्शी ७० वर्षीया छिरिङ तामाङले मिलनले लाठी लिएरै श्रीमतीलाई कुटिरहेको देखेपछि बिरामी श्रीमतीलाई किन कुटेको भन्दै आफू डराएर हिँडेको बयान दिएकी छिन्। मिलनले पनि शुरुमा श्रीमतीलाई घचेटेको, लाठी लिएर कुट्न खोजेको बयान दिएका थिए। विभिन्न आयोगले उनलाई लिएको बयानमा अस्वीकार गरेपछि मिलनको पोलिग्राफ लिएको थियो। पोलिग्राफमा समेत मिलनले श्रीमती लक्ष्मीलाई कुटेको देखिएको प्रहरीले बतायो।

पोस्टमार्टम रिपोर्टमा समेत कुटपिटबाट लक्ष्मीको मृत्यु भएको बताएपछि प्रहरीले त्यही सेरोफेरोमा रहेर अनुसन्धान गरेको थियो। उनलाई बोक्सीको आरोपमा दिसा खुवाउँदै नाम्लोले बाँधेर कुटपिट गरेको विषयलाई समेत प्रहरीले गहिरो ढंगबाट अनुसन्धान गरेको प्रहरी प्रवक्ता डीएसपी नवीनराज राईले जानकारी दिए। ‘हामीले कसको कुटाइबाट मृत्यु भएको भन्न सक्दैनौं, घटनाका बारेमा प्राप्त सबै प्रमाणहरू संकलन गरिसकेका छौं’, प्रवक्ता राईले भने– ‘तत्कालका प्रमाणहरूमा आलो रगत, पोते छिनेको र पोलियोग्राफमा समेत मिलनसमेतको कुटपिटमा संलग्नता देखिएको छ।’ सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले सोमबार घटनामा संलग्न भएकामध्ये पक्राउ परेका उनका श्रीमान् मिलन परियार, शिक्षक हीरा लामा, उनको आमा काइँली तामाङ र नाम्लो दिने नीरमाया तामाङलाई अभियोगसहितको मुद्दा जिल्ला अदालतमा पेस गर्नेछ।

२०७३ मंसिर २४ गते बिहान श्रीमान् मिलन परियारले पशुलाई कुटेझैं कुटपिट गरेपछि सहन नसकेर भाग्दै गर्दा घरबाट केहीपर लडेर मृत्यु भएको अनुसन्धानले देखाएको छ। दलित महिलालाई बोक्सीको आरोपमा दिसा खुवाएर कुटपिट गरी हत्या गरिएको भनिएको घटना त्यस्तो नभई श्रीमान्को कुटाइबाट मृत्यु भएको तथ्य र अनुसन्धानबाट खुलेको हो। स्थानीय विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक हीरा लामा र उनकी ५५ वर्षीय आमा काइँली तामाङलाई मंसिर २० गते लक्ष्मीले बोक्सी भन्दै बहुवाद बोलेपछि सहन नसकेर लक्ष्मीलाई कुटपिट गरेको र काइँली तामाङले सुँगुरको दिसालाई मानिसको शौचालयमा लगेर यही हो दिसा भन्दै गालातिर दलिदिएको, ४ दिनपछि उनकै श्रीमान्सँग भएको झगडामा लाठी र लाती तथा हातले लक्ष्मीलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

‘श्रीमतीलाई कुटेर मिलन दुई वर्षको छोरा बोकेर छिमेकीको घरमा पुगी लक्ष्मी मरिहाली बल्ल आनन्द भयो, यो छोरो हेरिदिनूस् है भनेका थिए’ –सानोवाङ्थली ७ का राजु लामाले भने। ७ बजे लक्ष्मी र मिलन घरबाट सँगै निस्किए लगत्तै मिलन छिमेकी घरमा पुगेका थिए भने लक्ष्मी उता गएर ढलेकी थिईन्। लक्ष्मीलाई कुटिरहेको स्थानीय ७० बर्षिय छिरिङ तामाङले देखेर किन झगडा गरेको भन्दै उँभो लागेकी थिइन्। उनी माझीफेदा गाविसमा हुँदै गरेको घ्यावामा जान लाग्दा मिलनले लक्ष्मीलाई कुटिरहेका थिए। उनको कुटाइबाट लक्ष्मीको घाँटीको पोते पूरै छिनेको थियो भने रगतको आहाल भएको थियो। लक्ष्मीको मुखभरि रगत भएपछि मिलनले जगमा पानी ल्याएरसमेत धुँदै गरेको स्थानीयले देखेका थिए।

प्रतिक्रिया दिनुहोस्