फिरोज राजोपाध्याय, काठमाडौं
भर्खरै पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा धेरै खेलाडीले पदक जिते र केहीले कीर्तिमान पनि बनाए । यसमध्ये एक खेलाडीले एथ्लेटिक्समा दुई स्वर्ण जितिन् । त्यसो त अरु पनि छन् दुई वा त्यो भन्दा स्वर्ण जित्ने खेलाडी छन् । उनले बृहत् राष्ट्रिय खेलकुदमा तेस्रो पटक सहभागितामा पहिलो पटक स्वर्ण पदक हात पारिन्। उनी कोही नभई २०५३ सालदेखि खेलकुदमा लागेकी र भक्तपुरको ब्यासीमा २०३८ सालमा जन्मेकी कान्छीमाया कोजु हुन्।

त्यसो त कान्छीमायाले पहिलो पटक राष्ट्रिय खेलकुदमा २०५५ सालमा सहभागिता जनाएकी थिइन् । नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा कान्छीमायाले दुई रजत पदक जितिन् । १५ सय मिटर र ५ हजार मिटर दौडमा नेपाल प्रहरीकी निर्मला भारतीसँग पछि परेर दोस्रो भइन उनी । तर उनको राष्ट्रिय खेलकुदुमा स्वर्ण जित्ने धोको यस पटक पुरा भयो । फरक यति मात्र कि पहिले मध्यमाञ्चलबाट सहभागी हुने कान्छीमाया अहिले विभागिय टोली शसस्त्र प्रहरी बलबाट प्रतियोगितामा सहभागिता जनाएकी छिन् ।
कान्छिमायाले पुर्वाञ्चलमा १० हजार र ५ हजार मिटर दौडमा स्वर्ण जितेर आफनो करिअरलाई अझ सुनौलो बनाएकी छिन्। साथै ३४ वर्षीया यी मध्यम दुरीका धावकले उनमा अझै क्षमता बाँकी रहेको प्रमाणित गरेकी छिन् । उनले महिला १० हजार मिटर दौडमा स्वर्ण जित्न ३७ मिनेट १६.९० सेकेन्ड समय खर्चेकी छिन् ।

सुनसरीको इटहरी रंगशालामा ५ हजार महिला स्पर्धातर्फ एपीएफकी कान्छीमाया कोजुले १८ मिनेट १३.४ सेकेन्ड समय लगाएर स्वर्ण जितिन् । कान्छीमायाले धनगढीमा भएको राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी विश्वरुपा बुढालाई पछि पार्दै स्वर्ण जितेकी हुन् । छैटो राष्ट्रिय खेलकुदमा चोटको कारण प्रतियोगिता त्याग गर्नु परेको पीडामा अहिले उनले मलहम लगाइन । उनले भनिन् पनि—बृहत् राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने धोको पुरा भएको छ ।

यस्तै कान्छीमाया कोजु केही वर्ष क्यानडाको बसाईपछि नेपाल फर्किन । २०७२ सालको जेठमा उनी क्यानडा गएकी थिइन् । उतै हुँुदा उनले अल्ट्रा म्याराथनमा पनि भाग लिएकी थिइन् । तर यो सम्म परेको ट्रयाक जस्तो नहुने भन्दै उनले बताइन्—क्यानडामा एक दाजुले अल्ट्रा म्याराथनमा भाग लिन भन्नुभयो र मैले भाग लिए। तर सम्म परेको ट्रयाकमा दौडिरहेको बानी त्यो उकालो ओरालो डाँडामा अलि कठिन नै भयो । एउटा छुट्टै अनुभव चाहिँ भयो ।

भविष्यमा अल्ट्रा म्याराथनमा प्रतिस्पर्धा गर्ने सोच हो कि भन्दा कान्छीमायाले त्यस्तो सोच नभएको बताइन् । त्यहाँबाट फर्केकी कान्छीमायाले फेरि नेपाली ट्रयाकमा धाक जमाइन् । उनले गत वर्ष असोजमा काठमाडौंमा सम्पन्न म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान राखिन् । उनले फुल म्याराथनमा स्वरुपा खड्काले राखेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । उनले उक्त म्याराथन २ घण्टा ५५ मिनेट ५७ सेकेण्डमा पुरा गरिन् ।

हाल एपीएफमा जागिरे भएकी कान्छीमायालाई सबैभन्दा खुशीको क्षण ओलम्पिकमा सहभागिता हुन पाउनु उनले बताइन् । २००४ एथेन्स ओलम्पिकमा १५ सय मिटर दौडमा सहभागिता जनाएकी कान्छीमायाले भनिन्—मलाई यो क्षण सबैभन्दा बिर्सनै नसकिने हो । किनभने हरेक खेलाडीको लक्ष्य भनेको ओलम्पिकमा सहभागिता जनाउनु हुन्छ । मैले ओलम्पिकमा खेल्न पाउँदा म आफुलाई भाग्यमानी सम्झेको छु ।

कान्छीमायाको प्रतिस्पर्धा भनेको विभागिय खेलाडीसँग भएको उनी स्विकार्छिन् । क्षेत्रीय खेलाडीको लागि विभागियलाई जस्तो सजिलो पनि छैन । उनले भनिन —विभागियमा प्रदर्शनको लागि स्कोप छ । बेहान बेलुकी कमसेकम प्रशिक्षण र अभ्यास हुन्छ पनि । तर क्षेत्रीय खेलाडीको लागि शायदै त्यो सुविधा मिल्छ होला । यसैले पनि खेलाडी उत्पादनमा न्युन भइरहेको हुन सक्छ ।

LEAVE A REPLY