थापा र गच्छदार सरकारमा जाने



बीपी साह, काठमाडौं

संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्मा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गर्नुभएको हो।

थापाले उपप्रधानसहित शक्तिसन्तुलन गर्ने खालको मन्त्रालयको माग गर्नुभएको छ भने गच्छदार पनि सरकारमा जान तयार हुनुहुन्छ। थापासँग यसबारेमा जिज्ञाशा राख्दा उहाँले शनिबार साँझ नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो– ‘म अहिले धनगढीमा छु। अनौपचारिक रूपमा यसअघि कुरा भए पनि औपचारिक रूपमा कुरा भएको छैन। पार्टीमा यसबारेमा कुरा गर्न बाँकी छ।’

गच्छदारले सरकारको आलोचना गर्न थालेपछि पछिल्लोपटक प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयका विषयमा बार्गेनिङ भइरहेको स्रोतको भनाइ छ। संविधान संशोधन विधेयक पारित गराउनका लागि गच्छदारलाई सरकारमा ल्याउने विषयमा मधेसी मोर्चाले पनि समर्थन गरेको छ। तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गच्छदारको विषयमा असहमति जनाउनुभएको स्रोतले जनाएको छ। सोही कारण यादव मोर्चाका अन्य नेताहरूबाट रुष्ट हुनुभएको बुझिएको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूबीच भएको छलफलमा थापा र गच्छदारलाई सरकारमा ल्याउन लागिएको औपचारिक जानकारी प्रधानमन्त्रीले दिनुभएको थियो। ‘तपाईंहरू अहिले सरकारमा नआउने भन्दै हुनुहुन्छ, त्यही भएर कमल थापाजी र गच्छदारजीलाई सरकारमा ल्याउने विचार गरेका छौं’, –प्रधानमन्त्रीले भन्नुभयो।

मोर्चाका नेताहरूलाई प्रधानमन्त्रीले भन्नुभयो– ‘देउवाजीलाई बारम्बार भन्दाभन्दै ढिलाइ भयो। संविधान संशोधन र निर्वाचनमा बल पुर्याउन कमलजी र गच्छदारजीलाई ल्याउनैपर्छ।’

उक्त बैठकमा सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक पुस १८ गते सोमबार संसद्मा टेबुल गर्ने सहमति भएको तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृशेषचन्द्र लालले नेपाल समाचारपत्रलाई बताउनुभयो। लालले भन्नुभयो– ‘संशोधन विधेयक टेबुल गर्ने सहमति भएको छ। सँगै निर्वाचन विधेयक पनि पेस हुनेछ। तर पहिले संशोधन विधेयक पारित गरिनेछ।’

संशोधन विधेयक पारित गरेर मात्र निर्वाचन विधेयक अगाडि बढ्ने सहमति भएको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले बताउनुभयो। यादवले परिमार्जनसहित संशोधन विधेयक पेस गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको बताउँदै पारित गराउने विषयमा प्रधानमन्त्री पनि सक्रिय देखिएको जनाउनुभयो।

यसैबीच सभामुख ओनसरी घर्तीले १८ गते सोमबार बस्ने संसद् बैठकबाट प्रक्रियामा जाने संकेत यसअघि नै गरिसक्नुभएको छ। उहाँले सोमबार जसरी भए पनि दलहरू प्रक्रियामा जानुपर्ने बताउँदै सोमबार दुई⁄तीन पटक भए पनि बैठक बस्ने जानकारी गराइसक्नुभएको छ। उहाँले संसद् अझै पनि अन्योलमा नरहने बताउँदै दलहरूलाई तीन दिनको समय दिनुभएको थियो। तर दुई दिन बितिसक्दा पनि प्रतिपक्षी दलसँग कुनै सहमति हुन सकेको छैन। बरु सत्तारूढ दलले संविधान संशोधनको पक्षमा रहेका दल र मोर्चासँग छलफल गरी संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ।

१८ गते नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संशोधन विधेयक पास गराउन दबाबस्वरूप जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्दै छ भने सदनमा पनि दबाब दिने कार्यक्रम राखेको छ। यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार मधेसी मोर्चाका नेताहरूसँग छलफल गर्दै संशोधन विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कांग्रेसले संशोधन विधेयकमा एक ढिक्का हुन र सोमबारको बैठकमा सहभागी हुन सांसदहरूलाई आग्रह गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्