पारसको सुनसान जन्मदिन



पूर्वराजा ज्ञानेन्द्रसहित सपरिवार करिब एक महिनाका लागि थाइल्यान्ड गएका कारण शुक्रबार सुनाकोठीस्थित निवासमा शुभेच्छुकहरूको पातलो उपस्थितिका माझ जन्मदिन मनाएका छन्।

ईश्वरराज ढकाल, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह छोरा पारसबाहेक सबै परिवारलाई लिएर थाइल्यान्ड भ्रमणमा निस्कनुभएको छ। नातिनातिनालाई थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्कनुभएको हो। बुहारी हिमानी बसाइको बन्दोबस्त मिलाउन भन्दै पुस १ गते नै थाइल्यान्ड पुग्नुभएको थियो।

पूर्वरानी कोमल, नाति हृदयेन्द्र र नातिनीद्वय पुर्निका र कीर्तिका पुस ४ गते थाइल्यान्ड जानुभएको थियो। पूर्वराजा ज्ञानेन्द्र आफ्ना स्वकीय सचिव सागर तिमल्सिनालाई लिएर यही १३ गते थाइल्यान्ड जानुभएको हो। भ्रमणमा धीरेन्द्र पुत्रीत्रय सिताष्मा, दिलासा र पुजासमेत थाइल्यान्ड भ्रमणमा गएका छन्। करिब १५ जनाको भ्रमण टोली थाइल्यान्डस्थित आफ्नै भाडाको फ्ल्याटमा बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

निर्मल निवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र परिवार करिब एक महिना बसाइपछि नेपाल फर्कने कार्यक्रम रहेको छ। लामो समयसम्म थाइल्यान्ड बस्नुपर्ने भएकाले सपरिवार फ्ल्याटमा बस्नुभएको हो। पुत्र पारसलाई एक्लै छाडेर सपरिवार थाइल्यान्ड गएपछि पारसको हिजो सम्पन्न ४५औं जन्मदिन प्रायः शुन्य भएको थियो। पारसलाई जन्मदिनको शुभकामना दिन आफ्ना अति निकट साथीभाइ, बालसखा, युवा विश्वहिन्दु महासंघ र शिवसेना नेपाल, विश्वहिन्दु महासंघका पदाधिकारीहरू सुनाकोठीस्थित निवासमा पुगेका थिए। उहाँलाई युवा विश्वहिन्दु महासंघका अध्यक्ष राजन महर्जनले मखन महादेवको चन्दन, रुद्राक्षको माला र रातो खादा लगाइदिनुभएको थियो। अधिकांशले फूलको गुच्छा र खादा लगाइदिएर शुभकामना दिएका थिए। शिवसेना नेपालका अध्यक्ष अनिल वस्नेत, चित्रबहादुर गुरुङलगायत करिब २ सय जनाले उहाँलाई शुभकामना दिएका थिए।

शुभकामना दिन पुगेका अधिकांशलाई पारसले हासेर स्वागत गर्नुभएको थियो। अधिकांश पूर्वराजावादी युवाको जमघट रहेको सुनाकोठी निवासमा सबैले पारसलाई सक्रिय हुन सुझाव दिएका थिए। शुभकामना दिन पुगेका आफन्त र साथीभाइले परिवार नहुदा खल्लो महशुस गरेका थिए। यसअघिको जन्मदिनमा छोराछोरीसँगै हुने गरेका थिए। यो वर्ष अलि खल्लो महशुस भयो तैपनि उहाँ खुसीनै देखिनुहन्थ्यो– ‘पहिलो स्वागत गर्न पुगेका युवा विश्वहिन्दु महासंघका अध्यक्ष महर्जनले नेपाल समाचारपत्रसँग भन्नुभयो। अघिल्लो जन्मदिनमा छोरा, छोरी र आफन्तसँगै बस्ने गरेका थिए। योवर्ष एक्लै देखिएका पारसले सबैलाई हासेर धन्यवाद दिनुभएको थियो। पारस हजुरआमा रत्नसँग भने आशीर्वाद लिन नारायणहिटी स्थित महेन्द्र मञ्जिल पुग्नुभएको थियो। उहाँले हजुरआमासँग दाम राखेर आशीर्वाद लिनुभएको थियो। एक्लै भए पनि जन्मोत्सवको शुभकामना दिन पाउँदा खुसी लागेको छ– ‘महर्जनले नेपाल समाचापत्रसँग भन्नुभयो। चौरमा शुभकामना दिन पुगेकामध्ये केहीले शुभकामना कार्डसमेत दिएका थिए। दाह्री पालेर बसेका पारसले कालो चस्मा लगाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्