‘संस्कृति, संरक्षणमा राज्य उदासिन’



नेपाल समाचारपत्र
ललितपुर
मुलुकभित्रको मौलिक संस्कृति, परम्पराको संरक्षणमा राज्यले खासै चासो नदेखाएको सम्बद्ध व्यक्तिहरूले बताएका छन्। न्यकू जात्रा मतयाःलाई व्यवस्था केन्द्रीय समितिको शुक्रबार ललितपुरको नागबहालमा सम्पन्न २०औं साधारणमा सभामा बोल्दै उनीहरूले सो कुरा बताएका हुन्। लिच्छविकालीन राजा वालार्चन देवले चलाएको न्यकू जात्रा मतयाःलाई निरन्तरता दिन सो समिति स्थापना गरिएको थियो।

हिरण्यवर्ण महाविहार दाफा भजन खलःबाट संगीतका गुरु नाट्ेयश्वरको बाजा बजाउँदै (ग्वारा थायेगु)शुरु गरिएको सो सभाको उद्घाटन गर्दै वरिष्ठ संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले अन्तराष्ट्रियस्तरमा नेपालको विविध संस्कृतिलाई प्रतिष्ठाको विषय बनाए पनि देशभित्रको मूर्त– अमूर्त संस्कृति संरक्षणमा उदासिनता देखाउने गरेको बताउनुभयो।

उहाँले संस्कृति मन्त्रालयले ल्याएको संस्कृति नीतिलाई समेत कार्यान्वयन गर्न खासै चासो नहुनु चिन्ताको विषय रहेको पनि बताउनुभयो। ‘नेपालको विविध संस्कृतिहरू सभ्यता, इतिहास र मौलिक पहिचानका आधारहरू हुन्। यस्तो महत्त्वपूर्ण संस्कृति अहिले क्रमशः बिर्सिदै गएको र राज्यले संरक्षणका लागि पर्याप्त बजेट विनियोजित गरेको छैन।’ वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो– ‘स्थानीय निकायले कनिका छरेजस्तै दिने केही बजेटले परम्परा र संस्कृति धान्नै मुस्किल छ।’ परम्परागत नौ बाजाका गुरु मोतिलाल शिल्पकारले नौं बाजा धार्मिक, सांस्कृतिक महत्वसँगै संगीतका हिसाबले पनि अतुलनीय रहेको चर्चा गर्दै त्यसको युवापुस्तामा हस्तान्तरण, अभिलेखीकरण, प्रचारप्रसारमा स्थानीय निकायको भूमिका प्रभावकारी नभएको धारणा राख्नुभयो।

अहिले मौलिक संस्कृतिप्रति गौरव गर्ने, त्यस बारे अध्ययन गर्ने भन्दा पनि विदेशी संस्कृतिमा मात्र रमाउने जमात तयार हुँदै गएको धारणा राख्दै अध्यक्ष शिल्पकारले आफ्नौ मौलिकपनमा गौरव गर्दै विदेशका राम्रा संस्कृति पनि अनुशरण गर्दा राम्रो हुने सचेतना अभियान चलाउनुपर्ने खाँचो औंल्याउनुभयो।

सभामा बाद्यवादन र परम्परागत बाजागाजाको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउनुभएका गुरुद्वय मत्सगोविन्द जोशी र ज्ञानबहादुर शाक्यलाई धिर्जमान सम्मान प्रदान गरियो। जात्रा सञ्चालनका लागि १ सय ४० वर्ष अघि धिर्जमान नामक एक दाताले १६ रोपनी जग्गा दान दिनुभएको सन्र्दभमा हरेक वर्ष सो सम्मान दिँदै आएको हो।

सो अवसरमा समितिका उपाध्यक्ष तारणबहादुर शाक्य, महासचिव आशारत्न शाक्य र कोषाध्यक्ष सूर्यबहादुर ताम्रकार लगायतले विदेशी संस्कृतिको अन्धाधुन्द नक्कले नेपालको मौलिकता र राष्ट्रियता पनि खतरामा पुर्याउने भन्दै मौलिक संस्कृतिको जर्गेना गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा केन्द्रीत गर्दै आ–आफ्नो धारणा राख्नुभयो।

सभामा पूर्वसंस्कृति मन्त्री बुद्धिराज वज्रचार्य, ललितपुर उपमहानगरपालिकाका पूर्वप्रमुख बेखारत्न शाक्य उपस्थिति हुनुहुन्थ्यो। हरेक वर्ष भाद्र कृष्ण द्वितीयाका १० वटा इलाकाबाट पालैपालो ऐतिहासिक सिंङ जात्रा र दीप यात्रा सञ्चालन हुने गरिन्छ। समितिले भाद्र महिनामा ललितपुरमा सञ्चालन हुने विविध जात्रा र परम्परामो धिमे, कोचांखि, धाः दमोखि, डमरु, गरी नौ बाजा बजाउने कार्यलाई व्यवस्थित गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्