तमु ल्होछारको अवसरमा पत्रकारलाई पुरस्कार



नेपाल समाचारपत्र
काठमाडौं
तमु ल्होछार २०७३ को उपलक्ष्यमा तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) द्वारा विभिन्न सञ्चारमाध्यममा कार्यरत आठ पत्रकार सम्मानित भएका छन्।

एटजोनले पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट ई–कान्तिपुर डटकमका संयोजक खिम घले र कान्तिपुर राष्ट्रिय दैनिकका वरिष्ठ उपसम्पादक गणेश राईलाई सम्मानित गरेको छ। पुरस्कारको राशि जनही २० हजार १ रुपियाँको रहेको छ।

यस्तै १० हजार १ रुपियाँ पुरस्कार राशिको तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखराकी समाचार सम्पादक शान्ति गुरुङ पुरस्कृत भएकी छिन्। भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट इलाम एफएमका समाचार प्रमुख उमेश गुरुङ र बुटवल एफएमकी कार्यक्रम निर्माता तथा प्रस्तोता उमा गुरुङ सम्मानित भएका छन्। दुवै पुरस्कारको राशि जनही ५ हजार १ रुपियाँ रहेको छ।

यस्तै १० हजार १ रुपियाँ पुरस्कार राशिको लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कास्की आवाजकी अध्यक्ष सरस्वती गुरुङ सम्मानित भएकी छिन्। यस्तै ५ हजार १ रुपियाँ पुरस्कार राशिको सीआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट पूर्वी चितवन डटकमका सञ्चालक तथा फोटो पत्रकार नेत्र गुरुङ तथा ५ हजार १ रुपियाँ राशिकै तमु पत्रकारिता पुरस्कारबाट द हिमालयन टाइम्स दैनिकका फोटो सम्पादक राजेश गुरुङ पुरस्कृत भएका छन्।

एटजोनका निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसका आधारमा पत्रकारहरू पुरस्कृत भएका हुन्। पुरस्कृत पत्रकारहरूलाई श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ तथा पुरस्कारका संस्थापकहरूले पुरस्कार प्रदान गरेका थिए।

सो अवसरमा तमु वर्ष पुस्तक गुरुङ न्युज डटकमको लोकार्पणसमेत गरिएको छ। वर्ष पुस्तकमा गुरुङ समुदायबाट पछिल्लो एक वर्षमा विभिन्न क्षेत्र तथा पेसा व्यवसायमा सफलता हात पारेका व्यक्तिहरूलाई समेटिएको छ। एटजोनले पछिल्लो चार वर्षयता वर्ष पुस्तकको प्रकाशन तथा पत्रकार सम्मान कार्यक्रम गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्