पुरानो संस्कारमा रुमल्लिएका नेपाली महिला




(के.बी. बस्नेत)
वर्षाैंदेखि मानसिक र शारीरिक रुपले नेपाली महिलालाई दुर्बल पारिएको छ । संस्कृतिको नाममा महिलाहरू प्रयोग भइरहेका छन् । यहाँका चलचित्र, नाटक आदिमा कुत्सित दृश्यहरू प्रदर्शन गरिन्छ, जसमा लज्जाको पर्दा हटेपछि महिला कलाकार नाच्ने गर्छन् । यति मात्र होइन, विगतमा यहाँका कतिपय महिलाहरू गार्मेन्टमा कार्यरत रहँदा धर्मान्तर हुन पुगे भने कतिपय बेपत्ता पनि भए । परन्तु यस सम्बन्धमा सम्बन्धित पक्षको यथोचित ध्यानाकृष्ट हुन सकेको छैन ।

यहाँ दाइजोको कारण घरवारविहीन महिलाको संख्या दिन–प्रतिदिन बढिरहेको छ । हुन त काठमाडौंलगायत अन्य शहरहरूमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले दाइजोविरोधी कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । तर पनि दाइजोका कारण निम्तिने घटनाहरू कम भएका छैनन् । विवाहमा प्रशस्त दाइजो ल्याउन नसकेको कारण सासू, ससुरा र श्रीमान्बाट अपहेलित हुने नेपाली महिलाहरू आजसम्म सहयोगको भिख माग्दै विभिन्न संघसंस्थाहरूमा धाउने प्रवृत्ति कायमै छ, तर उनीहरूमध्ये धेरैले न्याय पाउन सकेका छैनन् ।

पहाडको तुलनामा तराई तथा मधेसमा दाइजोको समस्या बढी छ । अझै पनि यहाँ छोराको विवाहमा खुशी हुने र छोरीको विवाहमा पीर गर्ने परम्परा कायमै छ । यहाँ साधारणतया दाइजोको सम्बन्धमा अमानवीय व्यवहार गर्नेहरूमा प्रायजसो सासू, ससुरा र श्रीमान् नै हुन्छन् ।

जोसुकैको छोरी भए पनि विवाह गरेर बुहारीको रुपमा घरमा भित्र्याएपछि परिवारकै सदस्यसरह माया–ममता गर्नुपर्छ । तर दुःखलाग्दो कुरा के छ भने, बुहारीको नियति भोगेर सासू बनेका स्वयम् महिलाहरू नै बुहारीहरूको शत्रुको रुपमा प्रस्तुत हुने गरेका घटनाले महिलाको शत्रु महिला नै हुने गरेको तथ्य प्रस्ट हुन्छ ।

सम्बन्धित संघसंस्थाहरूमा उजुर गरेपछि पीडित बुहारीहरूले सासू, ससुरा र श्रीमान्बाट सधैँ नै दुव्र्यवहार भोगेको देखिन्छ । यसरी पीडित बुहारीहरूले सासू, ससुरा र श्रीमान्बाट दुव्र्यवहार सहँदै औपचारिक न्याय पाए पनि उनीहरूको बाँकी जीवन निरस नै हुन्छ । आजीवन सँगै जिउने र मर्ने प्रण गरेका व्यक्तिले नै धोका दिएपछि उनीहरूको जीवन कष्टकर नहुने त कुरै भएन ।

दाइजोको समस्याबाहेक छोरा नपाएको बहानामा बुहारीहरूलाई आफ्ना घरबाट निक्लनुपरेको बाध्यता आज पनि धेरै ठाउँ र खास गरेर पहाड, तराई र मधेसका ग्रामीण क्षेत्रहरूमा विद्यमान छ । धेरैजसोले आफ्ना पीडा सम्बन्धित ठाउँमा भन्न नसकेर गुपचुपमै रहने गरेका छन् ।

वस्तुतः छोरा वा छोरी पाउनु महिलाहरूको पहुँचबाहिरको कुरा हो । यो कुरा विज्ञानले प्रमाणित गरेको भए तापनि धेरैजसो नेपाली महिलालाई थाहा छैन । दाइजो प्रथा यहाँको कानुनले वर्जित गरेको कुराको सम्बन्धमा धेरैजसो व्यक्तिहरू अनभिज्ञ छन् । अर्काे कुरा, आजको वैज्ञानिक युगमा कतिपय ग्रामीण महिलालाई बोक्सीको आरोपमा पिट्ने र मार्ने काम बेला–बेलामा प्रकाशमा आएको छ । यी सबै कुराहरू अशिक्षाको कारण भएको हो । यस्ता समस्याका निराकरणका लागि महिला तथा पुरुष दुवै सचेत हुन आवश्यक छ । हुन त विगतमा केही संस्थाहरूले दाइजो र महिलाहरूको हक तथा अधिकारको सम्बन्धमा विभिन्न कार्यक्रमहरू सञ्चालन नगरेका होइनन् । तर ती कार्यक्रमहरू व्यावहारिक हुन सकेनन् । त्यसैले कार्यक्रम आयोजकहरूले जहाँ समस्या बढी छन् त्यहीँ गएर प्रशिक्षण प्रदान नगरेसम्म ती समस्या क्रमिक रुपले न्यून गर्ने सम्भावना देखिँदैन ।

वास्तवमा महिलाहरूको कल्याणमा राष्ट्रको हित निश्चित छ । उनीहरू आफ्ना घरका स्वाभिमानी अथवा शासिका र माता पनि हुन् । उनीहरू अपेक्षित एवम् शोषित भएमा राष्ट्रको मूल नै नष्ट हुन्छ । महिलाहरू आफ्ना घरका आधारस्तम्भ हुन् । यसैले उनीहरूलाई गृहलक्ष्मी भनिएको हो । कष्ट, सहिष्णुता, क्षमा, बात्सल्यता र करुणा उनीहरूमा पाइन्छ । उनीहरू रस, रुप र रत्नका खानी पनि हुन् । उनीहरूको अभावमा संसार नै शून्य, शुष्क र मरुभूमितुल्य हुन्छ । बृहत् शब्दमा भन्ने हो भने उनीहरू पुरुषको भाग्य हुन् । राष्ट्रको सर्वाङ्गीण विकासमा उनीहरूको योगदान त्यत्तिकै आवश्यक छ, जति पुरुषहरूको । वास्तवमा कुनै पनि घर, समाज र राष्ट्रलाई प्रगतिको पथमा अग्रसर गराउन उनीहरूको खाँचो छ ।

आजको एक्काइसौँ शताब्दीमा पनि नेपाली महिला अन्धविश्वास तथा पुरानो संस्कारमा आबद्ध छन् । फलस्वरुप उनीहरू विभिन्न क्षेत्रमा पछि परेका छन् । तर उनीहरूको सहभागिताविना देश विकास सम्भव छैन । त्यसैले वर्तमान समयमा महिला सशक्तीकरण अभियान व्यापकरुपमा सञ्चालन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्