अस्पतालको सेवालाई सुचारु गराउन निर्देशन



पोखरा, १२ पुस । गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल, पोखरामा कार्यरत चिकित्सकका आन्दोलनका कारण १५ दिनदेखि आकस्मिक बाहेकका सेवा बन्द भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आज अस्पतालको सेवालाई सुचारु गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवामा हड्ताल गर्ने गराउने कार्य गैरकानुनी हुने भन्दै कार्यालयले अत्यावश्यकीय सेवालाई सुचारु गरी व्यवस्थापन र आन्दोलनरत दुबै पक्षबीच वार्ता गरी समस्याको समाधान खोज्न निर्देशन दिएको हो ।

कलेजमा कार्यरत चिकित्सकले विनाकारण निष्कासन गरिएका चिकित्सकलाई तुरुन्त पुनःबहाली गर्नुपर्ने, श्रम ऐनअनुसार करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने र महिना बितेको सात दिनभित्र तलब वितरण गर्नुपर्ने चारवटा माग राख्दै १५ दिनयता अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दै आएका छन् ।

सङ्घर्ष समितिका सचिव तारा कोइरालाले आफूहरूका जायज मागको सम्बोधनका लागि कलेजको व्यवस्थापनलाई एक हप्ता समय दिए पनि मागको बेवास्था गरिएका कारण दुई सातादेखि आकस्मिक बाहेकका सेवामा असहयोग आन्दोलन गरेको बताउनुभयो ।

कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले तलब वृद्धिलगायतका समस्या समाधानका लागि आन्दोलनरत चिकित्सकसँग तीन हप्ताको समय मागिए पनि उहाँहरूले त्यसको बेवास्था गरी आन्दोलनलाई जारी राखेको बताउनुभयो ।
हडतालका कारण अस्पतालमा आउने बिरामीका साथै कलेजमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक परीक्षा दिने विद्यार्थी प्रत्यक्षमारमा परेको बताउँदै उहाँले समस्याको समाधान छलफलबाट हुनुपर्छ भन्नेमा व्यवस्थापन प्रतिवद्ध भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्