निर्वाचन मिति तत्काल घोषणा गर्न माग



नेपाल समाचारपत्र
काठमाडौं
भ्रष्टाचार विरुद्ध नेपालले स्थानीय निकायको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामो समयसम्म स्थानीय निकायको निर्वाचन नहुँदा भ्रष्टाचार व्याप्त भएको भन्दै निर्वाचनको मिति तोक्न सरकारसमक्ष माग गरेको हो। युवाको नेतृत्व विकासका लागि स्थानीय निकायको निर्वाचन गरिनुपर्ने पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा उल्लेख छ। निर्वाचन नहुँदा स्थानीय नेतृत्वको विकास हुन नसकी भ्रष्टाचार व्यापक छाएको भन्दै युवा नेतृत्वको विकासका लागि निर्वाचन आवश्यक रहेको भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष रामकुमार ठाकुरले जानकारी दिनुभयो।

विज्ञप्तिमा गाउँ तहमा जनप्रतिनिधिको अभावमा जनताले आफ्नो समस्या र वेदनाहरू अभिव्यक्त गर्न नसकेकाले निर्वाचनमार्फत देशलाई निकास दिनुपर्ने उल्लेख छ। यस्तै संस्थाले सांसदहरू आफैंले आफ्नो तलब भत्ता वृद्धि गरेको भन्दै मुलुकको आर्थिक आयभार बढेकाले भत्ता वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ। संस्थाले भ्रष्टाचार विरुद्ध सचेतना प्रवाह गर्न र सुशासन कायम गर्न जिल्ला तहमा कार्यक्रम गर्ने योजना बनाएको सो अवसरमा जानकारी दिइएको थियो।

सम्मुनत जनजीविका र भ्रष्टाचारमुक्त समृद्ध नेपाल निर्माण कार्यमा योगदान दिने संस्थाका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो। पत्रकार सम्मेलनको सहजीकरण भ्रष्टाचार विरुद्ध नेपालका प्रवक्ता गोविन्द चौलागाईंले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्