अपांग सेवा संघको पहलमा पाएको जीवन



SONY DSC

विमल विष्ट, डोटी
कुनै बेला बजार तथा घरमा हिँडडुल गर्दा अरूको साहारामा हिँड्न बाध्य भएका डोटीको कपल्लेकी गाविस–७ का १५ वर्षीय शेरबहादुर बोगटी हिजोआज आफ्नै खुट्टाको साहारामा हिँड्छन्। जन्मजात नै बाँया खुट्टा जोडिएका बोगटीलाई डोटीमा रहेको अपांग सेवा संघको पहलमा काभ्रेको बनेपास्थित बनेपा अस्पतालमा खुट्टाको अप्रेसन गरिएपछि उनी अहिले आफ्नै खुट्टाको साहारामा हिँड्न थालेका हुन्।
घरको आर्थिक अवस्था निकै कमजोर भएका बोगटीलाई घरपरिवारले डोटीको पद्मपब्लिक मुक्तिनारायण स्कुलमा सुस्तश्रवण भएको भन्दै पढ्नका लागि राखेका थिए। तर, त्यहाँ डोटी अपांग सेवा संघले अनि सुस्तश्रवण नभएको र खुट्टा मात्रै अपांग भएकाले अप्रेसन गरेपछि निको हुने भन्दै यूएमएन डोटी कल्टरको आर्थिक सहयोगमा उपचार गरेपछि अहिले बोगटी दीपायलको राजपुरमा रहेको सुजंग बोर्डिङ स्कुलमा कक्षा ६ मा निःशुल्क पढिरहेका छन्। उनलाई डोटी अपांग सेवा संघले छात्रवृत्ति पनि दिँदै आएको छ। दीपायलमा रहेको अपांग अधिकार प्रवद्र्धन समितिको पहलमा बोगटीलाई सुजंग बोर्डिङ स्कुलमा निःशुल्क अध्यनको व्यवस्था मिलाइएको अपांग सेवा संघकी सीता रायमाझीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘घरका परिवाले सुस्तश्रवण भएको भन्दै सिलगढी पठाएका थिए, हामीले भेटेका बेलामा अर्काको साहारामा हिँड्थे पछि यूएमएनको आर्थिक सहयोग तथा हाम्रो पहलमा उप्रेसन गर्यौं। अहिले उनका घरपरिवार निकै खुसी छन्।’ आफ्नो कक्षामा दोस्रो स्थानमा आउने बोगटी पढेर ठूलो भएपछि डाक्टर बन्ने सपना बोगेको बताउँछन्। उनी भन्छन्– ‘पढेर ठूलो मान्छे बन्छु र डाक्टर हुन्छु अनि अपांगको सेवामा लाग्छु।’ त्यस्तै डोटी अपांग सेवा संघकै पहलमा दीपायल राजपुरका राजेन्द्र विकले पनि नयाँ जीवन पाएका छन्। विकको बायाँ काँधमा जन्मजात हड्डी पलाएका कारण उनलाई सुत्न, हिँड्न तथा टाउको हल्लाउनसमेत निकै मुश्किल परेको थियो। अप्रेसनपछि विक पनि सपांग भएका छन्। उनि पनि सुजंग बोर्डिङ स्कुलमा अध्यन गरिरहेका छन्। आफूहरूलाई अपांगबाट सपांग बनाउने संघ–संस्था तथा उपचार गर्ने डाक्टरलाई उनीहरू अहिले धन्यवाद दिनुका साथै आफ्ना भगवान् भएको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्