मिर्गौला रोगी आमाछोरालाई साढे चार लाख



रोशन पराजुली, हेटौंडा
दुवै मिर्गौला फेल भए पनि आर्थिक अभावमा उपचार गर्न नसकेका आमाछोरालाई मकवानपुर जागरण अभियानले ४ लाख ५२ हजार ५ सय ६० रुपियाँ सहयोग हस्तान्तरण गरेको छ।

हेटौंडामा पत्रकार सम्मेलन गरी दुवै मिर्गौला फेल भएका आमा ४२ वर्षीया विनीता उप्रेती तथा छोरा २१ वर्षीय आशिषलाई रकम हस्तान्तरण गरिएको हो। उनीहरूका लागि जागरण अभियानले सहयोग संकलन अभियान शुरु गरेको थियो।
रौतहटको चन्द्रपुर घर भएर हेटौंडामा ठेलामा फलफूल व्यवसाय गर्दै आएकी उप्रेती आफैं र उनका छोरा आशिषको मिर्गौला फेल भएपछि उनीहरू उपचार अभावमा छटपटाएको देख्न नसकेर सहयोग गरिएको जागरण अभियान मकवानपुर अध्यक्ष कृष्णराज कोइरालाले बताए।

सहयोग प्राप्त भएपछि विनीताले आफ्नो जीवन बचाउन सहयोग गर्नेलाई धन्यवाद दिइन्। ४ वर्ष पहिले आफ्नो मिर्गौला फेल भएको थाहा पाएपछि उपचार गर्दै आएकी उप्रेतीले छोरालाई पनि आफूलाई जस्तै समस्या देखिन थालेपछि जचाउँदा दुवै मिर्गौला फेल भएको थाहा पाएको बताइन्। फलफूल बेचेको आम्दानीले छोरा र आफूलाई औषधी खान पनि नपुग्ने भएकाले मृत्यु कुर्नुको विकल्प नभएको उनको भनाइ छ। घरपरिवारले वास्ता नगरेको बताउँदै उनले आफूहरूको जीवन बचाउन आग्रह गरिन्।

उनले भनिन्– ‘म त मरुँला, तर मेरो छोरा मेरैअगाडि मरेको म कसरी हेरुँ ?’ २ वर्षअघि छोराको मिर्गौला ७७ प्रतिशत बिग्रेको डाक्टरले भनेको बताउँदै उनले छोरालाई बचाउन हप्तामा ३ पटक डायलाइसिस गर्नुपरेको बताइन्। छोरा र आफ्नो उपचार गर्दा सबै सम्पत्ति सकिई ५ लाख ऋण लागेको बताउँदै उनले आफ्नो र छोराको मिर्गौला फेर्न ३० लाखभन्दा धेरै लाग्ने भएकाले मृत्यु कुर्नुको विकल्प नभएको बताइन्।

कार्यक्रममा अभियान केन्द्रीय उपाध्यक्ष जनकमान डंगोल र वरिष्ठ सल्लाहकार भीमसेन महतलगायतले उप्रेती आमाछोराको उपचारमा सहयोग गर्न आग्रह गरे। २१ वर्षीय युवा आशिष हेर्दा हृष्टपुष्ट देखिन्छन्। बोलाउँदा हाँसेर बोल्छन् तर उनको हाँसोले हार खाइसकेको छ। मृत्यु स्विकारेर बसेका आशिषले आमा विनीतासँग जीवन त्याग्ने प्रस्ताव गरेको ३ महिना बितिसक्यो।

तर, आमाले छोराको मृत्यु प्रस्ताव कसरी स्वीकार गर्न सक्थिन् र ? हेटौंडामा ठेलामा फलफूल बेचेर तीन छोराछोरी पाल्दै आएकी विनीताले पनि पछिल्लो समय हार खान थालिसकेकी छन्।
७ वर्ष काठमाडौंमा संघर्ष गरेकी विनीता छोराको उपचार गर्न नसकेपछि वैशाखमा हेटौंडा झरेकी हुन्। ‘मैले भएको सबै सम्पत्ति सकिसकें, ५ लाख ऋण छ’, उनले भनिन्– ‘मिर्गाैला प्रत्यारोपण गर्न खर्च लाग्ने भयो, त्यत्रो पैसा जुटाउन नसक्ने भएपछि छोराछोरी लिएर हेटौंडा आएकी हुँ।’

मकवानपुरको हाँडीखोला घर भएकी विनीताका पतिले साथ छाडेको एक दशक बितिसक्यो। ‘आमाछोरा दुवैको मिर्गौलामा समस्या देखिपछि पतिले दैनिकजसो दुव्र्यवहार गर्न थाले’, विनीताले दुःखी हुँदै भनिन्– ‘त्यसपछि घर छाडेर बालबच्चासहित काठमाडौं छिरें।’

कक्षा १२ उत्तीर्ण गरेका छोराले भने– ‘मृत्यु कुरेर बस्नु साह्रै गाह्रो हुँदोरहेछ।’ उनलाई रातभर दम र टाउको दुखाइले सुत्न समस्या हुन्छ। ‘राति तीन वटासम्म सिल्पिङ ट्याब्लेट खान्छु। तर, टाउको दुखेर सुत्न सक्दिनँ’ –उनले पीडा सुनाए। असारदेखि आशिषले पानी खान नपाएकाले पिसाब बन्द छ। डायलाइसिस गर्दा उनको शरीरबाट ५ देखि ७ लिटर पिसाब निकाल्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्