वीरगन्ज–पथलैया सडक विस्तार कार्य अलपत्र



कृष्णउदास खनाल वीरगन्ज
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको व्यापारिक सडक स्तरोन्नति योजनाअन्तर्गत पथलैया–वीरगञ्ज सडक विस्तारमा मुआब्जाको विवाद, निर्माण सामग्रीको अभाव र सडकखण्डका विद्युत् पोलका व्यवस्थापन नहुँदा सडक विस्तारको काम अलपत्र भएको छ।

२७ किलोमिटर सडकलाई ६ खण्डमा विभाजन गरी ४ अर्ब २५ करोड रुपियाँमा ठेक्का दिइएको सडक २ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ। सो सडक योजनाअन्तर्गत ३२ मिटरको फोरलेन सडक, स्थानीय आवागमनका लागि ५⁄५ मिटरको दुईतर्फी सर्भिस लेन र ३ मिटरको फुटपाथ निर्माण गरिनेछ। पर्सा हरपतगन्जदेखि आईसीपी सडकसम्मको ४ किलोमिटर सडकमध्ये डेढ किलोमिटरमा स्थानीयले मुआब्जाको विवाद शुरू गरेका छन्। हुलाकी सडकअन्तर्गत पर्ने यो सडकको चौडाइ ३० मिटर कायम छ। विस्तार गर्न लागिएको सडक ५० मिटर हुने भएकाले सडकको दायाँबायाँ २० मिटर जग्गाको मुआब्जा तिर्नुपर्ने सडक विस्तार योजना कार्यालयका इन्जिनियर कर्णसिंह थापाले जानकारी दिए। योजनाअन्तर्गत ६ वटै खण्डको हालसम्मको समग्र कार्य प्रगति १० प्रतिशत रहेको उनले बताए।

सो खण्डको विस्तारको ठेक्का पप्पु कन्सट्रक्सन र लुम्बिनी कन्सट्रक्सनले साझेदारीमा लिएका छन्। पप्पु कन्सट्रक्सनका निर्देशक सुमित रौनियारले सो खण्डको कार्य प्रगति काम शुरू भएको २ महिनामा २० प्रतिशत पुगेको बताए। मुआब्जा र अन्य अवरोधको समयमै समाधान भएमा तोकिएकै समयसीमाभित्र काम पूरा हुने दाबी रौनियारको छ। आफ्नो कम्पनीले एएमआर इन्डिया लिमिटेडसितको सहकार्यमा जिम्मा लिएको परवानीपुरदेखि जगरनाथपुरसम्मको १ नम्बर खण्डमा २५ प्रतिशत काम पूरा भएको पनि उनले जानकारी दिए। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले स्थानीयसित छलफल गरी मुआब्जा विवाद समाधानको प्रयास भइरहेको जानकारी दिए। कतिपय स्थानीयले यसअघि नै हुलाकी सडक योजनासित मुआब्जा लिएर पनि ३० मिटरभित्रै घर बनाएको प्रशासनको दाबी छ। स्थानीय प्रशासनको संयोजनमा विगत ६ महिनादेखि भइरहेको समाधानको प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन।

योजनाका लागि ६ लाख घनमिटर ढुंगा, बालुवा, ग्राभेललगायतका सामग्री चाहिने योजनाले जनाएको छ। स्थानीय जिल्ला विकास समितिहरूले खोलानालामा ठूला उपकरण प्रयोग गरी सामग्री निकाल्न रोक लगाएकाले समस्या भएको ठकेदारहरूले बताएका छन्। इन्जिनियर थापाले निर्माण कम्पनीहरूको आवश्यकता निर्धारण गरी बारा, पर्सा र मकवानपुर जिविसलाई सामग्री उपलब्ध गराउन पत्राचार गरिएको बताए। रौनियारले आफ्नो कम्पनीको कामका लागि मात्र ३ लाख ५० हजार घनमिटर सामग्री चाहिनेमा ट्याक्टरमा ओसार्दा अहिलेसम्म १०⁄१२ हजार घनमिटरभन्दा बढी सामग्री संकलन गर्न नसकिएको बताए।

सडक विस्तार क्षेत्रमा विद्युत्का पोलले समेत निर्माण कार्यमा अवरोध पुर्याएको पप्पु कन्सट्रक्सनले जनाएको छ। आफ्नो कार्यक्षेत्रमा मात्रै २ सय ६९ वटा विद्युत्का पोल परेको उसले जनाएको छ। त्यस्ता पोल हटाउन नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको इन्जिनियर थापाले जानकारी दिए। उनले अहिले अवरोध नभएका स्थानमा काम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्