परराष्ट्र मामिला प्रतिष्ठानलाई सक्षम बनाउन कार्यदल



काठमाडौं, (नेस),परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई समय सापेक्ष सवल र सक्षम संस्थाको रुपमा अघि बढाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रतिष्ठानको वोर्ड बैठकले पूर्व राजदूत डा. दिनेश भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
प्रतिष्ठानको आइतवारको बोर्ड बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराई, प्रतिष्ठानका बोर्ड सदस्यहरु कुमार रेग्मी, हरि प्रसाद, पूर्व राजदूत शम्भुराम सिंखडालाई कार्यदलको सदस्य नियुक्त गरेको हो । त्यसैगरी प्रतिष्ठानकी नव नियुक्त उपकार्यकारी निर्देशक डा इन्द्र अधिकारी कार्यदलको सदस्य–सचिव तोकिनु भएको छ । कार्यदलको कार्य अवधि २ महिना तोकिएको छ ।
मुलुकको परराष्ट्र मामिलासँग जोडिएका नीति, निर्देशन तथा कुटनीतिक सम्बन्धसँग जोडिएका विविध विषयबारे सरकारलाई सल्लाह सुझाव दिन २ दशक अघि प्रतिष्ठान गठन भएको थियो । परराष्ट्र मन्त्रालय मातहतको प्रतिष्ठानले नव नियुक्त राजदूत, महावाणिज्यदूत तथा परराष्ट्र सेवामा कार्यरत कर्मचारीहरुलाई अनुशिक्षणसँगै तथा सेवाकालिन तालिम प्रदान गर्दै आएको छ । तर प्रतिष्ठान शसक्त र प्रभावकारी ढंगमा अघि बढ्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो । ढिलै भएपनि प्रष्ठिानलाई बलियो र दरिलो थिंक ट्यांकका रुपमा अघि बढाउन कार्यदल गठन भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई बताए ।

प्रतिक्रिया दिनुहोस्