मौसम भोलिबाट खुल्ने



टीका बन्धन–
काठमाडौं
पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा मौसम बदलिएर एक्कासी चिसो बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनुका साथै केही स्थानमा हल्का वर्षा समेत भएको छ ।
भारतको जम्बु कास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको वायुको प्रभावले सुदुर पश्चिम र आसपासका उच्च भेगमा हिमपातसँगै हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिपायल, पोखरा, सिमरा सहित तराईका केही भू–भाग र पूर्वी पहाडी भेगमा हल्का वर्षा भएको छ । शनिवारदेखि पूर्वी पहाडी भेगको मौसम बदलिएको थियो भने आइतवार दिउँसो हल्का वर्षा भएको हो ।
‘पश्चिमी वायुको प्रभावले मध्य र पश्चिमी क्षेत्रमा मौसम बदलिएको हो, महाशाखाका मौसमविद् बरुण पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘पूर्वी भेगमा भने स्थानीय तहमा विकास भएको न्यून चापिय क्षेत्रको प्रभावले मौसम धुम्मिएको हो ।’ भोली मंगलबारदेखि धेरै स्थानको मौसम खुल्ने भएकाले चिसो धेरै दिन नबढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्