छाउपडीमा केन्द्रित हुँदै भेलाहरू



अछाम, (नेस)
पछिल्लो समय अछाममा हुने विभिन्न भेला र बैठकहरू छाउपडी प्रथामा केन्द्रित हुन थालेका छन्। गत मंसिर ४ गते तिमिल्सैन गाविस–७ निवासी डम्मरा उपाध्याय र यही पस ३ गते गाँज्रा गाविस–७ निवासी रोशनी तिरुवाको छाउपडी गोठमै मृत्यु भएको घटनाले सबैको यसतर्फ ध्यान केन्द्रित गराएको हो।

अछामको गाँज्रा गाविसकी १५ वर्षीया किशोरी रोशनी तिरुवाको छाउपडी गोठभित्रै मृत्यु भएको घटनाप्रति अछामका महिला अधिकारकर्मीको पनि गम्भीर ध्यानाकृष्ट भएको छ। यस क्रममा अछामका महिला अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय अछाममार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन्। गत मंसिर ४ गते जिल्लाको तिमिल्सेन गाविस–७ की डम्मरा उपाध्याको छाउगोठमै ज्यान गएपछि प्रधानमन्त्रीले अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सेनालाई टेलिफोन गरेर ध्यानाकर्षण गराएको स्मरण गर्दै अधिकारकर्मीले पछिल्लो घटनालाई सरकारले चासोका साथ नहेरेको आरोप लगाएका छन्। उक्त घटनामा प्रधानमन्त्रीले चासो राखेको देखेर खुसी बनेका अधिकारर्मीमा पछिल्लो घटनाले निराश बनाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।
घटनालाई सरकराले सामान्य रूपमा लिएको भन्दै अधिकारकर्मीहरू आक्रोशित बनेका छन्। महिला अधिकारकर्मी विन्दु रावलको अगुवाइमा अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्दशर्मा भुसालमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइएको हो।

प्रतिक्रिया दिनुहोस्