दश प्रतिशत बासिन्दा शौचालयविहीन



बनेपा, १० पुस । काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारिका अधिकांश गाविसमा स्थानीय बासिन्दा अझै पनि शौचालयको प्रयोग गर्दैनन् ।

भौगोलिक कठिनाइ तथा आर्थिक–यातायात र जनचेतनाको अभावका कारण डाँडापारिका गाविसमा शौचालय निर्माण हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अधिकृत रामकाजी काफ्लेले जानकारी दिनुभयो । केही वर्षअघि मात्रै जिल्लामा २५ प्रतिशत शौचालय भएकामा अहिले धेरै शौचालय बनेको उहाँले बताउनुभयो ।

डिभिजन कार्यालयका अनुसार जिल्लामा ८० हजार सात सय २० मध्ये आठ हजार चार सय ६४ घरधुरीले शौचालय बनाएका छैनन् । भूकम्पका कारण १७ हजार सात सय ४९ शौचालय पुनःनिर्माण हँुदैछन् ।

दुर्गम क्षेत्र गोकुले, घर्तीछाप, फोक्सिङटार, साल्मेचाकल, साल्धारा, सिसाखानी, महादेवस्थानका केही तथा बालुवापाटी देउपुरका केही घरधुरीले समेत शौचालय प्रयोग गर्दैनन् ।

काफ्लेले खुला दिसामुक्त घोषणा नभएका गाविसमा गाविसस्तरीय सम्मेलन गरेर कार्ययोजना बनाउने काम थालिएको जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म २७ गाविस खुला दिसामुक्त भएका छन् भने छ गाविसमा घोषणाको तयारी हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्