70 परिवारलाई भूकम्पप्रतिरोधी घर ‘उपहार’



रोशन पराजुली, हेटौंडा ।
पोहोर वैशाखको भूूकम्पले मकवानपुर बुढीचौर–५, कुटडाँडाका खड्गबहादुर रुम्बाको सातोमात्र लगेन, आफू बस्दै आएको घर पनि गर्लम्मै ढलायो । आफ्नो घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएका रुम्बाको परिवारलाई घर बनाउने चिन्ताले सतायो ।

ऋण खोजेर घर बनाऔं भने पनि तिर्ने आधार छैन, नबनाऔं भने बस्ने आफ्नो घर नहुने । भूकम्पले फर्काएको खुशी ल्याउने चिन्तामा वर्षभर डुबेका रुम्बाको खुशी यतिबेला एक गैरसरकारी संस्थाले फर्काइदिएको छ । उनले भूकम्पप्रतिरोधी दुई कोठे घर उपहार पाएका छन् । राडो नेपाल हेटौंडाले टियर फण्डको आर्थिक सहयोगमा रुम्बालाई भूकम्पप्रतिरोधी घर निर्माण गरिदिएको हो ।

गाउँमै पाइने ढुंगामाटो, रड अनि सिमेन्टको प्रयोगबाट नवनिर्मित निलो कर्कटले चिटिक्क देखिने घरले रुम्बा परिवारमात्र खुशी छैन, गाउँलेसमेत उनको भूकम्पप्रतिरोधी घर बनेकोमा खुशसी छन् ।

भूूकम्पप्रतिरोधी घर यसरी बनाउनु पर्दोरहेछ भन्ने कुुरा स्थानीयले रुम्बाको घर हेरेर जानेका छन् । यसैले त अहिले स्थानीयरुपमा पाइने स्रोतसामग्री प्रयोग गरी भूकम्पप्रतिरोधी घर कसरी बनाउन सकिन्छ भन्ने जानकारी तथा सल्लाह लिन उनको घरमा दैनिकजसो कोही न कोही आइरहेको हुन्छ ।

गाउँमै तालिमप्राप्त मिस्त्रीहरुले निर्माण गरेको घरलाई ‘भूकम्पप्रतिरोधी नमूूना घर’ नाम दिइएको छ । जग, डीपीसी, शिल्ड, स्टिच, लिन्टेल, रुफब्याण्ड, वालप्लेट, डाँडाभाटादेखि छाना छाउनेसम्म कार्यमा विशेष ध्यान दिएर घर बनाउनुपर्ने कुरा रुम्बाको घर हेर्नेहरुले बुझेका छन् ।

उनीमात्र होइन, संस्थाले मकवानपुुरका ८ गाविसका हरेक वडामा एक/एक वटा यस्तै भूकम्पप्रतिरोधी नमूूना घर निर्माण गरेको छ । मकवानपुुरगढी, सुकौरा, बुढीचौर, इपापञ्चकन्या, कोगटे, सिस्नेरी, मन्थली र बेतिनीमा आर्थिकरुपमा विपन्न, अपांगता भएका, असहाय ७० परिवार भूकम्प प्रभावितको घर निर्माण कार्य भइरहेको राडो नेपालका अध्यक्ष कृष्ण धिताल बताउँछन् ।

धिताल भन्छन्–गाउँघरमै पाइने स्रोतसाधनबाट भूकम्पप्रतिरोधी घर बनाउन सकिन्छ भन्ने जागरणका लागि गरिएको कार्यक्रम सफल हुँदा खुशी लागेको छ । संस्थाका सूचना व्यवस्थापन अधिकृत विष्णु धितालका अनुसार वडा नागरिक मञ्च, गाविस सचिव संयोजक रहेको स्थानीय विपद् व्यवस्थापन समितिलगायतसँग समन्वय गर्दै भूकम्पको पूूर्णक्षतिको सूचीमा परेका अतिविपन्नका परिवारका लागि घर निर्माणमा सहयोग गरिएको हो । संस्थाबाट सहयोग पाउनेले राज्यबाट भने अनुदान नपाउने अधिकृत धिताल बताउँछन् ।

राडोले यसअघि मकवानपुरको आग्रा र टिष्टुङमा ३८ परिवारलाई भूूकम्पप्रतिरोधी नमूना घर निर्माण गरी हस्तान्तरण गरिसकेको कार्यक्रम प्रवन्धक हरेराम वाग्ले बताउँछन् । दुई गाविसमा निर्माण गरिएका भूकम्पप्रतिरोधी नमूना घर जसले पाएका छन्, उनीहरु मात्र खुशी छैनन, गाविसवासी लाभान्वित छन् । नमूना घरसँगै एउटा ट्वाइलेट, सुधारिएको चुल्हो, अर्थिङ, सोलार टुकी, गटर पाइपसमेत सहयोग गरिएकाले नमूना घर साँच्चैको सबैको हेर्नलायक भएको आफूले पाएको उनको भनाइ छ ।

वाग्लेका अनुुसार राडो–टियर फण्डको सहयोगमा दुई गाविसमा नमूना घरका अलावा करिब ६ सय घर राज्यको अनुदान नीतिअनुरुप निर्माण कार्य भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्