डोटीका महिलामा यौनरोगको संक्रमण बढी



डोटी, (नेस)
पुरुषभन्दा महिलामा यौनरोग संक्रमणको खतरा बढेको एक तथ्यांकले देखाएको छ। नेपाल परिवार नियोजन संघ, डोटीले हालसम्म जिल्लाका १ हजार ३ सय ४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो। तीमध्ये ७ सय ८२ महिलामा यौनरोग संक्रमण भेटिएको छ। परिवार नियोजन संघ डोटीले सन् २०१४ देखि पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दै आएको छ। हालसम्मको संघको तथ्यांक हेर्दा यौनरोग संक्रमण दर बर्सेनी बढ्दै गएको देखिएको छ। संघले सन् २०१४ मा ३ सय २८ जनाको परीक्षण गरेको थियो जसमा ९५ जनामा यौन संक्रमण देखिएको छ।

त्यसमध्येका ६ जना पाठेघरको मुखको क्यान्सरको जोखिममा छन्। सन् २०१५ मा ४ सय ४१ जनामा गरिएको परीक्षणमा २ सय जना महिलामा यौनरोगको संक्रमण देखिएको छ। त्यस्तै, बढ्दै गएको पाठेघरको मुखको क्यान्सर लाग्न सक्ने खतरालाई कम गर्न जनचेतनामा अभिवृद्धि गर्नु जरुरी रहेको परिवार नियोजन संघ जिल्ला शाखा डोटीका प्रबन्धक चेतराज फुलाराले बताउनुभयो। सुदूरपश्चिमको हकमा यौनरोगीको संख्यामा वृद्धि हुँदै गइरहेको छ। असुरक्षित यौनसम्पर्क र गलत परम्पराले समेत यौनरोगी बढिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्