प्याड विसर्जनको व्यवस्था माग



हेटौंडा, (नेस) फाखेलका बालबालिकाले आफंैले आफ्ना योजनाहरू छनोट गरेका छन्। गाउँ बाल संरक्षण समितिको व्यवस्थापन एवम् जिल्ला विकास समिति र गाविसको सहयोगमा आयोजना गरिएको बाल भेलामा फाखेलमा बाल क्लबका प्रतिनिधिले योजना छनोट गरेका हुन्।

सहभागी बालबालिकाले बालविवाह न्यूनीकरण, आकस्मिक बालकोष, बाल सूचना केन्द्र स्थापना, महिनावारीका क्रममा छात्राले प्रयोग गर्ने प्याड विसर्जनका लागि आवश्यक व्यवस्था गरिनुपर्ने जोसिला बाल क्लब अध्यक्ष विनिता कार्कीले बताइन्।

विभिन्न बाल क्लब र विद्यालयस्तरका बाल क्लबआबद्ध बालबलिकाको सक्रिय सहभागितामा बाल केन्द्रित योजना कार्यान्वयनका लागि सवाल उठान गर्दै बालबालिका आफैंले योजना प्राथमिकीकरण गरेका थिए।
गाउँ बाल संरक्षण समिति फाखेल अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा सम्पन्न भेला गाविस सचिव राजकुमार सुवेदीको प्रमुख अतिथ्य तथा प्लान इन्टरनेसनलका विकास संयोजक वेदबहादुर लामाको विशेष अतिथ्यतामा भएको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिको पनि आतिथ्यता थियो। गाउँ बाल संरक्षण समिति सचिव विनोद लामाले सञ्चालन गरेको कार्यक्रममा गाविस सामाजिक परिचालक सुन्दर लामाले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्