बाह्र वर्षपछि चुनबाङमा प्रचण्ड जनता भन्दै थिए– ‘तपाईं त फेरिनुभएछ’



धनवीर दाहाल, रुकुम
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको रुकुमको चुनबाङस्थित भेडीडाँडामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्दा सो ठाउँमा प्रचण्डलाई लुकाएर राखेका लालबहादुर खड्का छक्क परे। आफ्नो ठाउँलाई माओवादी नेताहरूले १२ वर्षसम्म फर्किएर नहेरेको गुनासो गरिरहेका चुनबाङबासीले आफ्नै अगाडि एक्कासि प्रचण्ड पुग्दा उनी छक्क परेका हुन्।

प्रचण्डलाई आफूसँगै राखेका भेडीडाँडाका खड्काले प्रचण्डसँग धित मरुञ्जेल गुनासो राख्ने सोच राखेका थिए। तर, छोटो समय भएकाले गुनासो राख्न त पाएनन् तर प्रचण्डका आश्वासनका पोकाहरू भने धित मरुञ्जेल सुने। उनी ४९ वर्षको हुँदा उनकै गाउँमा तत्कालीन सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको थियो।
सोही बैठकबाट विद्रोही माओवादीले शान्ति प्रक्रियामा जाने निर्णय गरेको थियो। तत्कालीन जनसेनाको ७ वटा घेराभित्र उनीहरू बसेका थिए। बैठक सकिएपछि प्रचण्डले लालबहादुरसँग हात मिलाउँदै भनेका थिए– ‘हामीलाई तपाईंहरूले ठूलो सहयोग गर्नुभएको छ। हामी चुनबाङलाई देशकै नमुना गाउँ बनाएरै छोड्छौं।’ उनका आश्वासनहरू शनिबारको भेटमा पनि दोहरिए। स्थानीय गञ्जबहादुर ओलीको घरमा माओवादीको बैठक बसेको थियो। सो बैठकले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको नाराका आधारमा मिल्न सकिने जति शक्तिसँग मिलेर राजतन्त्र विरोधी आन्दोलनलाई व्यापक र सशक्त तुल्याउन प्रयत्न गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई टेकेर माओवादी शान्ति प्रक्रियामा आएको हो।

प्रधानमन्त्री प्रचण्डलाई चुनबाङबासीले भने– ‘प्रधानमन्त्रीज्यू, हजुर त पुरै परिवर्तन हुनुभएछ नि⁄’ प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा पनि चुनबाङबासीले पहिलोपटक देख्न पाएका हुन्। प्रचण्ड प्रधानमन्त्री २ पटक भए पनि चुनबाङ पुग्नुभएको थिएन। १२ वर्षपछि चुनबाङ पुगेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धका आधार इलाकाहरूबाट ऊर्जा लिएर संविधान कार्यान्वयनमा लाग्ने पुरानै शैलीका कुरा गर्नुभएको छ।

रुकुम र रोल्पालगायतका आधार इलाकाहरूले जनयुद्धका क्रममा ठूलो सहयोग गरेको भन्दै अब यहाँकै जनताको साथ र हौसलाले संविधान कार्यान्वयनमा पनि ठूलो सहयोग गर्ने बताउँदै उहाँसँग निरास भएका जनतालाई फकाउने प्रयास गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डले गुरिल्ला ट्रेकिङ तथा ‘जनयुद्ध’ संग्रहालयको शुभारम्भ गर्नुभएको छ। युद्धको आधार इलाकाका जनताहरूको भावना बुझेर अघि बढ्दा मात्र आर्थिक समृद्धि र समाजवादको आधार तयार हुने भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनहरूमा हुने संविधान संशोधन र कार्यान्वयनमा त्यसले ठूलो भूमिका खेल्ने बताउनुभयो। ‘सुन्दर सपनासहित हामीले लामो कष्टपूर्ण युद्ध थालनी गरेका थियौं’, उहाँले भन्नुभयो– ‘सपना देखेका केही पूरा भएका छन् तर आधार इलाकाका धेरै सपनाहरू पूरा गर्न बाँकी छ, अबको आर्थिक समृद्धिको योजनामा यिनै क्षेत्रहरू प्राथमिकतामा पर्दछन्।’ यसअघि माओवादी गुरिल्ला हिँडेको बाटोमा अब आन्तरिक तथा बाह्य पर्यटकहरू हिँड्ने बताउँदै देशकै पर्यटन क्षेत्रमध्ये गुरिल्ला ट्रेकिङ आर्कषणको केन्द्र बन्ने र यसको प्रवद्र्धनमा हरक्षेत्रबाट सरकार लाग्ने उहाँले बताउनुभयो।

प्रधानमन्त्रीको रूपमा आएका प्रचण्डको रङ रूप फेरिएको स्थानीय जनताले देखे पनि आश्वासन बाँड्ने तरिका भने नफेरिएको उनीहरूले महसुस गरे।

प्रतिक्रिया दिनुहोस्