मुनामदन अब हङकङमा



सांस्कृतिक संस्थानले भोलि आइतबार र मंगलबार हङकङमा गीतिनाटक मुनामदन मञ्चन गर्ने भएको छ। संस्थानले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित अत्यन्तै लोकप्रिय गीतिनाटक मुनामदन कोकिल गुरुङको निर्देशनमा २०३२⁄०३३ सालतिर तयार पारेको हो।

तत्कालीन समयमा सबैभन्दा धेरैपटक मञ्चन गरिएको नाटकमा स्वरसम्राट् स्व. नारायण गोपाल, तारादेवी, कमला श्रेष्ठ, माणिकरत्न तुलाधर, नवीनकिशोर राई, गणेश रसिक, कमल क्षत्री, इन्द्रनारायण श्रेष्ठ तथा भुवन चन्दलगायतको स्वर रहेको छ भने रेकर्डिङ श्याम तामाङले संस्थानमै लाइभ रेकर्ड गरेका हुन्। उक्त नाटकको संगीत संगीतकार नेपाल कलाभूषण चन्द्रराज शर्माले गरेका थिए।
संस्थानले यसअघि धेरैपटक मञ्चन गरिसकेको यो नाटक पहिलोपटक हङकङमा मञ्चन गर्न लागेको संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए।

नाटकका कलाकार टोलीको नेतृत्व संस्थानका सञ्चालक समितिका अध्यक्ष उद्योग राईले गरेका छन् भने नाटकको व्यवस्थापन, संयोजन तथा निर्देशन संस्थानका नाटक प्रबन्धक प्रभाकरदेव शर्माले गरेका छन्। उक्त नाटक टोलीमा संस्थानमा कार्यरत कलाकारहरू शारदादेवी सिलवाल, रमेश केसी, मनोज जोशी, अञ्जु रञ्जितकार, सीता कार्की, केशवराज राई, माया थापा, सवनम सिलवाल, श्रीहरि फुँयाल र रेशमबहादुर पुन रहेका छन्। नाटकको व्यवस्थापन गर्नका निम्ति प्रभाकरदेव शर्मा र रमेश केसी हङकङ पुगिसकेका छन् भने बाँकी कलाकारहरू संस्थानका अध्यक्ष राईको नेतृत्वमा आज त्यसतर्पm प्रस्थान गर्दै छन्। हङकङमा मुनामदन प्रस्तुत गर्नुका साथै संस्थानका कलाकारहरूले पौष ११ गते हङकङ गुरुङ समाजद्वारा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा समेत मौलिक लोकसंस्कृतिमा आधारित कार्यक्रम प्रस्तुत गर्नेछन्। कार्यक्रमको आयोजना हङकङ एकीकृत नेपाली समाज लिमिटेडले गर्न लागेको छ।

सांस्कृतिक संस्थान र हङकङ एकीकृत नेपाली समाज लिमिटेडबीचको यस सहकार्यले आगामी दिनहरूमा नेपाली कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र विकासमा ठोस योगदान पुग्ने विश्वास सांस्कृतिक संस्थानले लिएको जनाइको छ।

प्रतिक्रिया दिनुहोस्