(कमल ढकाल) यात्रा जारी राख।’ यो धेरैले भन्छन्। धेरैले भन्दैनन्। ‘हरेक खुड्किलो चढ। चढ्न गाह्रो भए पनि नरोकिऊ। जब टपमा पुग्छौ, सुन्दर दृश्य त्यहींबाट देख्छौ।’ जीवनको जुइनोसँग जोडिएको यो उक्तिले सूक्ति सिकाउँछ। जीवनमा आएका अप्ठ्यारासँग जुझ्दै अगाडि बढ। गाह्रो भए पनि नरोकिऊ। हिँड्दै जाँदा तिमीले आफ्नै जीवन सुन्दर देख्नेछां। यही भन्न खोजेको वाक्य हो यो।

रमीन्द्र क्षत्रीसँग जोड्दा यो वाक्यको असल स्वाद आउँछ। वर्तमान जर्नेलसाब रमीन्द्रले जीवनको खुड्किलो चढ्दै जाँदा २०६० भदौ ११ आयो। जीवनकै अप्ठइरो समय थियो त्यो साल रमीन्द्रका लागि। आफ्नै घर सामाखुसीमा उनलाई माओवादीले गोली हाने। मार्ने उद्देश्यले हानेको गोलीले उनी बचे। टाउकोमा हानेको गोली ढाडमा लाग्यो। तत्कालै अस्पताल लगियो। अस्पतालमा उनले भने– ‘डक्टरसाब यस्तो फाट्फुटे गोलीले म मर्दिनँ, मेरो पेनचाहिँ चाँडो किल गर्दिनुस्।’ आत्मविश्वासी उनका कुराले डक्टर पनि जिल खाए। अझै वाल्लै परेछन् डक्टर त्यतिबेला। जतिबेला उनले ढाडमा गोली लाग्दा पनि हिँडेर आफ्नो गाडीमा राखेको बन्दुक झिके भन्ने सुनेर। यो विज्ञानलाई चक्मा दिने उनको आत्मविश्वासले डक्टर आश्चर्यचकित भए।

रमीन्द्रको पेन किल भयो। नाइटोमुनि छोए पनि चलाए पनि केही थाहा नहुने अर्काे पेन थपियो। अर्थात् उनी ह्विलचेयरमा जीवनभर हिँड्नुपर्ने भयो। नाइटोमुनि नचलेर के हुन्छ? उनले आफैंलाई प्रश्न गरे। उत्तर पनि पाए। मान्छेसँग संवाद गर्न सक्ने जिब्रो छ। संसारको सुगन्ध सुंघ्न सक्ने नाक छ। राम्रा कुरा हेर्न सक्ने आँखा छ। म्युजिक सुन्न सक्ने कान छ। तातो चिसो थाहा पाउने छाला छ। पाँच ज्ञानेन्द्रीय सग्लै छन्। सबैभन्दा ठूलो कुरा उनीसँग सोच्न सक्ने दिमाग छ। आफैंभित्रको उत्तरले उनको सोच र जाँगर घटेन। झन् बढ्यो। उनले सेनामै छँदा सुनेको वाक्य सम्झे। ‘फुर्सदमा हैन अन्डर प्रेसरमा काम गर्ने बानी बसाल्नू।’
अन्डर प्रेसरमा काम गर्दै गए। २०६० पछि उनको प्रमोसन हँुदै गयो। अहिले जर्साब बनिसके। संसारका धेरै देश ह्विलचेयरमै घुमे। जिल्ला घुमिरहेछन् ह्विलचेयरमै। उनले ४२ वटा भन्दा बढी गीत गाइसके। पीएचडी गरेर डक्टर रमीन्द्र बने। जनसेवा श्री, नेपाल विद्याभूषणलगायतका धेरै पुरस्कार पाए। गीतको एल्बम बेचेर आएको पैसाले बाबुआमाको नाममा गोपाल–प्रमिला मेमोरियल ट्रस्ट बनाएका छन्। त्यसबाट सामाजिक काम गरिरहेका छन्। आफूमा आएको परिवर्तनको यो धुन बुझेर उनले जीवन सुन्दर बनाए। जीवन सुन्दर छ भन्ने एल्बम नै तीनवटा निकाले। यी सबै प्रमाणले उनको जीवन सुन्दर छ भन्ने देखायो। सोच सुन्दर गरेकै कारण उनको जीवन सुन्दर बन्यो।

तीनवटा एल्बमजस्तै उनको तीन जीवन छन्। आर्मीमा नआउँदा २०३६ अघिको जीवन, २०३६ देखि २०६० सम्मको जीवन र २०६० पछिको जीवन। २०३६ अघि उनी चितवनमा होटल खोल्न हिँडेथे। ‘चित्रवन’ नामक होटल दर्ता भयो। एनआईडीसीले अर्काे साल मात्र लोन लिन आउनू, यसपाला कोटा पुगिसक्यो भनेपछि उनी बाबुको सल्लाहमा गए। बाबुले पारिवारिक विरासत र राष्ट्रसेवा सम्झाए। हजुरबा मेजर, आफू कर्नेल र भाइहरू राजेन्द्र र रतीन्द्र सेनामा गइसकेको। आफू पनि आर्मीमा जानु भन्ने बाबुको आदेशअनुसार उनी आर्मीमा छिरे।

२०३६ पछिकै जीवनमा पारिवारिक जीवन पनि छ। परिवारमा थप परिवार थपिए दुई छोरी। छोरीहरू अभिलाशा र आकांक्षाले उनको अभिलाषा र आकांक्षा पूरा गर्दैछन्, गरिरहेका छन्। श्रीमती शान्ता गृहणी हुन्। भाइ राजेन्द्र नेपाल आर्मीका चिफ छन्। साइँलो भाइ रतीन्द्र जर्साबबाट रिटायर्ड भइसके। आर्मीको तीन परिवारमा हुन्छ। एक निजी परिवार, अर्काे सकल सेना र अझ ठूलो परिवार राष्ट्र«। तीनै परिवारलाई ब्यालेन्स बनाएर रमीन्द्र रत्तिएका छन्। अहिले उनी राष्ट्रिय सेवा दलमा छन्। जहाँ गए पनि नयाँ के गर्न सकिन्छ भनेर हेर्ने उनको दिमागकै कारण आफूले हरेक दर्जा र नियुक्तिमा फरक परिवर्तन गरेको उनी बताउँछन्।

परिवर्तन शब्दबाहेक सबै कुरा परिवर्तन छ। यो संसारको नियम हो। माने पनि नमाने पनि, जाने पनि नजाने पनि परिवर्तन भइरहेको हुन्छ। आज उनलाई गोली ठोक्ने पार्टीको नेता प्रधानमन्त्री छन्। त्यसो भन्दैमा के उनले उनीप्रति दुराग्रह राख्छन् त? उनको उत्तर स्वामी विवेकानन्दको जस्तो लाग्यो मलाई। विवेकानन्दले भनेका छन्– ‘यो दिमाग डस्टबिन बनाउने कि अमूल्य सम्पत्ति राख्ने चिज बनाउने? रिस, ईष्र्या, दुःखजस्ता कुरा राख्दा दिमाग डस्टबिन बन्छ भने क्षमा, माया, खुसी राख्दा दिमाग मूल्यवान् सम्पत्ति राख्ने दराजजस्तो बन्छ।’ आफ्नो दिमागलाई मूल्यवान् सम्पत्ति राख्ने दराज बनाउन चाहने रमीन्द्रले यत्ति भने– ‘परिर्तनलाई आत्मसाथ गर्नु नै जीवनको रीत हो, असल गीत हो, सुमुधुर संगीत हो।’ यो उत्तरमा विवेकानन्दको दर्शन चिनीजस्तै घोलिएको पाएँ मैले।

विदेशमा ह्विलचेयर फ्रेन्डली कल्चर छ नेपालमा छैन। यहाँ ह्विलचेयर देख्दा मान्छेले साइड छाड्दैन बरु त्यसैमा लात हानेर हिँड्छ। यस्तो कुराले भने उनलाई दुःख लाग्छ। भन्दैथे– ‘हाम्रो समाज नै क्षमाशील समाज हो, असभ्य समाज हैन सभ्य समाज हो तर पनि किन यस्तो हुन्छ सोच्छु कहिलेकाहीं।’ पढेका लेखेका, जानेका सुनेका बुझेका रमीन्द्रसँग कुरा गर्दा लाग्छ। उनमा दिव्य दर्शन छिरिसकेको छ। सानै कुरामा गहिरो दर्शन लुक्ने गरी बोल्ने उनी बाबाजस्तो लाग्छन्। अफिसको सिटमा बस्दा भने उनलाई ह्विलचेयरमा बसेजस्तो लाग्दैन। सफा चट आर्मी पोसाकमा बसेर ‘ए सुन् त। तँ यहाँ गएर यसो गरिहाल बुझिस् नि’ मायालु तँ भन्ने आर्मीको स्टायलको आदेश र माथिको पोस्टका भए भने ‘हजुर मर्जिहोस् न। के खाइबक्सिन्छ’ भन्ने सत्कारको संस्कार कुराकानी गर्दा नै देखियो जुन आफैंमा रमाइलो लाग्यो। यही रमाइलोमा उनी रमाइलो गरी दिन बिताउँछन् र भन्छन्– ‘रमाइलो छ जिन्दगी।’ फेरि भन्छन्– ‘मात्र परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्छ।’

LEAVE A REPLY