सार्वजनिक यातायातमा यात्रु असुरक्षित



मोतीराम तिमल्सिना, काभ्रे
पाकेटमारहरूले सार्वजनिक यातायातमा हैरानी पार्न थालेका छन्। यात्रुहरू असुरक्षित भएपछि सार्वजनिक बसको सुरक्षाप्रति ध्यान दिन सरोकारवालाहरूलाई आग्रह गरिएको छ।

बसमा धेरै पैसा मात्रै होइन स–सानो रकम पनि लुटिने र कान तथा नाकमा लगाएका गहनाहरू लुटिन थालेपछि व्यस्त चोक बनेपामा सर्वसाधारणले असुरक्षित महसुस गरेका हुन्। प्रहरीले बनेपा–पनौती, बनेपा–धुलिखेल र काठमाडौं सञ्चालन हुने बसमा लुटपाट गरिरहेका केही युवाहरूलाई पक्राउ गरेको छ।

कानुन फितलो हुँदा सार्वजनिक अपराधमा दर्ता भएका मुद्दाहरू धरौटीमा छुट्ने भएकाले उनीहरू लुट्न पल्किरहेका छन्। पाकेटमारहरूले अनौठो शैलीमा लुट्ने गरेको यात्रु दीपक गौतमले बताए। खचाखच बसमा एकाएक युवाहरूको समूह पालैपालो चढ्छन्। भीडमा ठेलठाल गर्दै अगाडि पुग्छन्।

त्यही भीडमा आफ्नो खाली पर्स वा केही सामान खसाल्न बसको झ्यालबाट बाहिर थुक्छन्। तुरुन्तै पर्स खसेको अभिनय गर्छन्। त्यति नै बेला भीडमा उनीहरूको पर्स टिपीदिन यताउता गर्ने क्रममा पकेट काटेर रकम लुट्छन्। तत्कालै कसैले देख्यो भने मेरो पर्स किन चोर्या भनेर कुट्ने प्रयास गर्छन्। नभए उल्टै रकम चोरदोषको आरोप लगाउँदै बेइज्जत गर्छन्।

त्यही मौकामा ग्याङका अन्य सदस्यहरू सिटबाट उठेको र झगडा गरेको मौकामा पर्स लुटेर फरार भइसक्छन्। यो बनेपा चारदोबाटोको कथा हो। प्रायः हरेक दिन दुई⁄तीन वटा घटना धुलिखेल–बनेपा, बनेप– धुलिखेल, पनौती–बनेपा, बनेपा–पनौती–काठमाडौं चल्ने बसभित्र हुने गरेको छ।
लामो दूरी भए साँगा र खावा, श्रीखण्डपुरसम्म पुग्दा काम फत्ते गरेर टोली भेटघाटमै रमाउन थालिहाल्छ। प्रहरीले पछिल्लो समय लगातार २ दिन त्यो समूहका युवाहरूलाई पक्राउ गरेको छ। सर्वसाधारणलाई समेत प्रहरीले सतर्क रहन, बसभित्रको यात्रामा सुरक्षा अपनाउन अनुरोध गरेको छ।

बस व्यवसायीहरू, मजदुरहरूलाई समेत बसभित्र हुने यस्ता घटनाबाट यात्रुहरूलाई सजग गराउन प्रहरीले अनुरोध गरेको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनील घिमिरेको टोलीले बनेपाबाट पाकेट मारेर भाग्दै गरेको अवस्थामा सिन्धुली बस्तीपुर गाविस–६ का २९ वर्षीय राजीव गोले, ललितपुर महालक्ष्मी नगरपालिका १६ बस्ने ३३ वर्षीय श्यामसुन्दर पौड्याल, भुग्देउ महांकालचौर गाविस–४ का वर्ष २१ का विनोद मगर, सोही स्थानका २७ वर्षीय अनील घिमिरे, ज्याम्दी गाविस–९ का २८ वर्षीय कान्छा लामालाई पक्राउ गरेको छ। उनीहरूले ५० हजारको बिटो लुटेर भाग्ने क्रममा पक्राउ गरिएको हो। दुई जनालाई अघिल्लो दिन पक्राउ गरिएको थियो भने बाँकीलाई भोलिपल्ट। दुवै ग्याङको एउटै फर्मुलाअनुसार बसमा पाकेट मार्दै आएका छन्। सार्वजनिक अपराधअन्तर्गत उनीहरूलाई मुद्दा चलाई थप अनुसन्धान शुरु गरिएको छ।

उता उग्रतारा जनागाल गाविस–८ घर भएका अनील कार्कीलाई जनागाल चोकमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अभियोगमा १४ जनाको समूहविरुद्ध प्रहरीले कारबाही शुरु गरेको छ। उक्त समूहका ३ जना भने पक्राउ परेका छन्। बनेपा नगरपालिका–१० घर भएका २१ वर्षीय सविन श्रेष्ठ, बनेपा नगरपालिका–३ का २२ वर्षीय विशाल नेपाली र बनेपा ५ का २२ वर्षीय नियाज हुसेनलगायत रहेका छन्। कार्कीको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। उनलाई पुरानो रिसइवीका कारण आक्रण गरिएको बताइएको छ। प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्