सातौं राष्ट्रिय खेलकुद आजबाट कविरस शर्मा



तौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट प्रारम्भ हुँदै छ । विराटनगरको शहीद रंगशालामा भब्य उद्घाटन समारोहकाबीच प्रतियोगिता शुरु हुनेछ । पूर्वाञ्चलका विभिन्न ८ जिल्ला तथा केही खेलहरू काठमाडौं तथा ललितपुर गरी पुस ८ देखि १५ सम्म देशकै भब्य खेल महोत्सव आयोजना हँुदै छ ।
सातौं राष्ट्रिय खेलकुदका लागि ३ हजार ९ सय ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमध्ये १ हजार ७ सय ५३ पुरुष र १ हजार १ सय ६१ महिला खेलाडीहरू जिल्ला तथा क्षेत्रीय छनोटमार्फत् सहभागी भएका छन् । यस्तै ५ सय ५० पुरुष र ५ सय ८ महिला खेलाडीहरू भने प्रत्यक्ष सहभागी भएका छन् । प्रतियोगितामा २ सय ६८ स्वर्ण, २ सय ६८ रजत र ४ सय १६ कास्य पदक गरी कूल ९ सय ५२ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका तीन विभागीय टोली र पाँच विकास क्षेत्रले सहभागिता जनाउने यस प्रतियोगिताको सबैभन्दा बढी खेल सुनसरीमा हुनेछन् । सुनसरीमा ११ खेल हुनेछन् भने मोरङमा १०, झापामा पाँच, खेलहरू हुनेछन् । यसै गरी पूर्वाञ्चलका अन्य शहर सिराहा, सप्तरी, ईलाम, उदयपुर र धनकुटामा पनि प्रतियोगिताहरू सञ्चालन हँुदै छन् । प्रतियोगितामा समावेश खेलमध्ये सुनसरीमा महिला तथा पुरुष फुटबल, एथ्लेटिक्स, तेक्वान्दो, कराते, महिला र पुरुष भलिबल, महिला पुरुष बास्केटबल, महिला क्रिकेट, सेपाताक्रो र साइकिलिङ हुनेछन् ।

यस्तै मोरङमा टेबल टेनिस, महिला र पुरुष कबड्डी, उसु, महिला र पुरुष ह्यान्डबल, हकी, सुटिङ, सफ्टटेनिस, पुरुष क्रिकेट, आर्चरी र खोखो खेलाइनेछ । झापामा जिम्नयास्टिक, जुडो, ब्याडमिन्टन र महिला तथा पुरुष बक्सिङ हुनेछ । यसपटक सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये ३१ खेलको मात्रै पदक गणना हुनेछ । जसअन्तर्गत प्रदर्शनी खेलसहित कूल ३५ खेल समावेश छन् । रग्वी, डान्स स्पोर्ट्स, साम्वो, रक क्लाइम्विङ र दोहोरीलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिएको छ । यस्तै गल्फ, आर्चरी, फेन्सिङ र स्नुकरका विजेताले पदक प्राप्त गर्ने छैनन् । स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङलगायत चार खेलको न्यूनतम टिम नपुगेको परिषद्ले यसअघि नै बताइसकेको छ । त्यस्तै स्वीमिङ, शारीरिक सुगठन, ट्रायथलन, एथ्लेटिक्सको म्याराथन गरी चार खेलहरू अघिल्लो वर्ष नै सम्पन्न भइसकेकाले सातौंमा समावेश गरिएको छैन ।

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेलबाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ खेललाई पनि यसपटक समावेश गरिएको छ । थप गरिएका चार खेलमध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो ।

सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्नका लागि बजेटमा क्रमिक रूपमा वृद्धि भएको छ । राखेप सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिता सम्पन्न गर्नका लागि शुरूमा २३ करोड लागतको अनुमान गरिएको भए पनि त्यो अपुग हुन गएको बताए । उनले खेल संख्या बढेको र अन्य कारणले लागतमा वृद्धि हुन गई २८ करोड पुगेको बताए । प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण तथा मर्मतसहित जिल्ला र क्षेत्रीयस्तरका खेलाडी छनोट प्रतियोगिता गर्दासम्म २० करोड बजेट सकिसकेको बताए । प्रतियोगिताको समापन भने धरानस्थित अखिल नेपाल फुटबल संघको खेल मैदानमा हुनेछ ।

भत्तामा वृद्धि
सातौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूले दैनिक १४ सय रुपियाँ पाउने छन् । यो रकम छैठौं राष्ट्रिय खेलकुदको भन्दा ६ सय रुपियाँले बढी हो । यसअघि सुदूर पश्चिममा भएको छैठौं राष्ट्रिय खेलकुदमा खेलाडीको दैनिक भत्ता ८ सय रुपियाँ मात्र रहेको थियो । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अघिल्लो पटकको राष्ट्रिय खेलकुदका क्रममा खेलाडीहरूले पाउने भत्तामा अनिमियतता भएकाले यसपटक त्यस्तो दोहोरिन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिसकेका छन् । जसका लागि उनले यसपटक खेलाडीकै हातमा भत्ता दिने व्यवस्थासमेत मिलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्