रेलमार्ग निर्माणका लागि चाँडै डिपिआर बनाउ



नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसद विकास समितिको बिहिबार बसेको बैठकमा यस्तो निर्देशन दिएको हो ।

नेपालको उत्तर– दक्षिण तथा पूर्व– पश्चिम जोड्ने रेलमार्गको निर्माणबाट मात्र देशको आर्थिक विकास तथा समृद्धिको आधार निर्माण हुने भएकोले त्यसका लागि यी काम तत्काल गर्न समितिले निर्देशन दिएको समितिले जनाएको छ ।

समितिको बैठकले काठमाडौँ–पोखरा विद्युतीय रेलमार्ग निर्माण गर्ने कार्य द्रुत गतिमा अगाडि बढाउन तथा विश्वका अन्य देशहरुसँगको व्यापारिक पहूँच बढनउन रेलवे यातायातको क्रस बोर्डर कनेक्टिभिटी अभिवृद्धि गर्न समेत निर्देशन दिएको छ ।

बैठकमा नेपालमा रेल यातयातको विस्तार, हालसम्मको कार्यप्रगति, समस्या तथा चुनौतीहरुका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री, सचिव तथा रेल विभागका महानिर्देशक लगायतसँगको छलफलमा देशभित्र तीव्र गतिको रेल्वे यातायातको संजाल विस्तार गर्न समितिले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तथा सडक विभागलाई निर्देशन दिएको छ ।

त्यस्तै गरी, समितिको बैठकले जनकपुर जयनगर रेल्वे निर्माण गर्ने कार्य यसै वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याउन र वर्दिबास–सिमरा रेलमार्गको ट्रयाक बेडकोे निर्माण सम्पन्न गरी ट्रयाक विछ्याउने कार्य आरम्भ गर्न भनेको छ ।

काठमाडौँ उपत्यकाको सवारी चाप तथा सवारी जामलाई व्यवस्थित गर्न तथा उपत्यकाको सवारी आबागमनलाई सहज रुपमा सञ्चालन गर्न उपत्यका भित्र मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी मेट्रो रेल सेवा निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी निर्माण कार्य आरम्भ गर्न समितिले नेपाल सरकार, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तथा रेल विभागलाई निर्देशन दिएको छ ।

काठमाडौंवाट सवैभन्दा नजिकको नाका विरगंज जोड्ने काठमाडौं विरगंज रेल मार्गको निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न समितिले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्