आदिवासी जनजाति महासंघको अध्यक्षमा बराम



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा कांग्रेस निकट जगत बराम निर्वाचित हुनुभएको छ। उहाँ एमाले निकटका सूर्यबहादुर भुजेललाई ८ मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो। बरामले ३१ मत प्राप्त गर्नुभएको थियो भने भुजेलले २३ मत पाउनुभएको थियो।

कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार बराम अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष हुनुहुन्थ्यो भने उहाँका निकटतम प्रतिद्वन्द्वी भुजेल उपाध्यक्ष हुनुहुन्थ्यो। महासचिव पदमा पनि संयुक्त प्यानलकै नित्यानन्द ताजपुरिया ३७ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी टासी ह्याल्मोले १५ मत प्राप्त गर्नुभएको छ।

एमालेलाई पाखा लगाउन संयुक्त प्यानल खरो रूपमा उत्रिएको थियो। अध्यक्षसहित सबै पदमा संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा किरण सुनुवार, गोविन्द छन्त्याल, लोकबहादुर दुरा, गणेशलाल थकाली, नवीन रोका, कृष्णकुमारी शेरचन, सोनम लामा, श्यामप्रसाद मण्डल निर्वाचित भए। त्यसै गरी सचिवमा आङपासाङ शेर्पा, श्रुतिमाया कुमाल, सोनम लामा मुगाली, सुखवीर थामी, सुखमती राजवंशी, शान्तिदेवी धिमाल, लाक्पाहिसे शेर्पा, राजकुमार बोटे, गोपाल माझी, दानसिंह राउटे निर्वाचित भए भने कोषाध्यक्षमा मुकुन्दबहादुर पहरी निर्वाचित भए।

प्रतिक्रिया दिनुहोस्