एमालेको पछि नलाग्न गृहमन्त्रीको आग्रह



अनिल खत्री, गुल्मी
पाल सरकारका उपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र्र निधिले पार्टीको निर्णयविपरीत आन्दोलनमा नलाग्न आग्रह गर्नुभएको छ। गुल्मीको भाडगाउँमा नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति चन्द्र केसीका बुबा ज्ञानबहादुर खत्रीको ११औं दिनको अवसरमा आयोजित शोक सभामा बोल्दै मन्त्री निधिले सरकारले संसद्मा पेस गरेको संविधान संशोधनमा पहाडी जिल्लाहरूलाई अलग गरी ल्याइएको विधेयको विरोधमा नलाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। मन्त्री निधिले सीमांकन हेरफेर गुल्मी, पाल्पा, आर्घाखाँचीलगायतका जनताको हितमा रहेकाले आफ्ना कार्यकर्तालाई एमालेको पछि नलाग्न र पार्टी निर्णयको पक्षमा वातारण बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।

नेकपा एमालेले अनावश्यक आन्दोलन चर्काएको र संसद्लाई समेत चल्न नदिएर संसदीय प्रणालीलाई अवरोध गरेकाले यसो गर्नु राष्ट्रियता विपरीत काम गरेको आरोप उहाँको थियो। कांगेस नेतासमेत रहनुभएका निधिले आफूले प्रस्ताव गर्दा राष्ट्र हितमा हुने अरू पार्टीले गर्दा कसरी राष्ट्र घात हुन्छ भनेर एमालेलाई प्रश्न समेत गर्नुभयो।मन्त्री निधिले नेकपा एमाले संघीयता विरोधी पार्टी भएको भन्दै झुटको खेती गरेर आन्दोलनमा लाग्नेहरूबाट आफ्ना नेता तथा कार्यकर्ता सतर्क रहन आग्रह गर्नुभयो।

प्रदेशको प्रस्ताव गर्दैमा राष्ट्रघाती नहुने र सीमांकन पनि राष्ट्रियताको हितमा रहेको मन्त्री निधिले दाबी गर्नुभयो। संविधान घोषणासँगै नेपालमा राजतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली परिवर्तन ल्याएकाले यसलाई संस्थागत गर्न नेपाली कांग्रेस लागिपरेको उहाँको भनाइ थियो। नेता निधिले एमालेलाई तुरुन्त संसद् चल्न दिई मन नपरेका विषयमा छलफल गरी निकास खोज्न सुल्झाउनुभयो। उहाँले गुल्मीमा चलेको आन्दोलनमा घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था मिलाउन पहल हुने बताउनुभयो।

सोही सभामा रक्षामन्त्री बालकृष्ण खाँडले सीमांकन हेरफेरमा जनताको असहमति आउनु स्वाभाविक रहेको तर आफू पार्टी निर्णयबाट पछि नहट्ने बताउनुभयो। उहाँले पार्टीले यस प्रदेशका जनताको हितका लागि ल्याएको प्रस्ताव राष्ट्र हितमा रहेकाले पार्टी निर्णय नै सर्वोपरी रहेको जिकिर गर्नुभयो। शोकसभामा वनमन्त्री एवं कांग्रेस नेता शंकर भण्डारी, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, ज्ञानेन्द्र कार्की, रूपन्देहीका सांसद अब्दुल रज्जाक, गुल्मी क्षेत्र नं. १ का सांसद डा. कृष्ण छन्तेललगायतका नेताको सहभागिता रहेको थियो। सभामा कांगे्रस गुल्मीका सभापति एवं संयुक्त संघर्ष समिति गुल्मीका संयोजक भुवनप्रसाद श्रेष्ठले गुल्मेली जनताको भावना विपरीत दर्ताप्रति पहाडी जिल्लाको सीमांकन हेरफेरमा असहमति रहेको बताउनुभयो। उहाँले नियोजित कसैलाई चित्त बुझाउन ल्याएको प्रस्ताव फिर्ता लिन मन्त्री निधिसँग आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्