ट्युमरका कारण ११ वर्षदेखि गोठमा



हेटौंडा, (नेस) मकवानपुरको हेटौंडा नगरसँग सीमा जोडिएको हाँडीखोला गाविस–४ की ५१ वर्षीया माइलीमाया हिम्डुङ अनुहारमा पलाएको ट्युमरको उपचार गर्न नसक्दा ११ वर्षदेखि गोठमा बस्न बाध्य छिन्।

न्यून आर्थिक अवस्थाकी हिम्डुङको उपचार गर्न नसक्दा उनलाई परिवारले गोठमा राखेको हो। ट्युमर बढेर सम्पूर्ण अनुहार ढाकेको, टाउको तथा सम्पूर्ण अनुहारभर खटिरा आएर पाकेपछि दुर्गन्धका कारण घरमा राख्न असहज भएको हिम्डुङका पति गोमान सिंहले बताए। २०६० सालमा पिनास भएको, २०६१ सालमा नाकमा मासु पलाएपछि वीर अस्पतालमा उपचार गरेको तर त्यसको एक वर्षपछि पुनः नाकमा मासु पलाउन थालेको बताउँदै गोमान सिंहले आर्थिक अभावका कारण उपचार गर्न नसक्दा आफूहरू निकै पीडामा परेको बताए।

६ छोरी र १ छोरासहित ९ जनाको परिवार पाल्न ४ कठ्ठा पाखो बारी रहेको बताउँदै गोमान सिंहले आफूले छाक टार्न मजदुरी गर्नुपरेका कारण उपचार गर्न नसकेको बताए। पहिलोपटक उपचार गर्दा १ लाख ५० हजार रुपियाँ खर्च भएको र उक्त ऋण तिर्न अंशमा आएको आधाभन्दा धेरै जग्गा बेच्नुपरेको बताउँदै उनले पत्नीको उपचारका लागि सघाउन आग्रह गरेका छन्। पत्नीलाई गोठमा राख्नुपर्दा निकै पीडा हुने गरेको बताउँदै उनले सहयोग भए पत्नीको उपचार हुन सक्ने आशा गरे।

प्रतिक्रिया दिनुहोस्