बढ्दो मदिरा सेवनको संस्कृति




(चिरञ्जीवी नेपाल) मद्यपान, धूमपान र सुर्तीसेवन मानवस्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । यसको प्रयोगले प्रयोगकर्तालाई मात्र नभई वरिपरि बस्ने व्यक्तिलाई समेत नकारात्मक असर पार्छ । वर्तमान समाजमा मदिरा सेवनको चलन एकदमै बढेर गएको छ । विभिन्न प्रकारका धार्मिक, सामाजिक र सांस्कृतिक पर्व, विवाहलगायतका संस्कारहरूमा हुने भोजभतेरमा रक्सीको प्रयोग अत्यधिक मात्रामा बढिरहेको छ । मानौँ यो विना कुनै कार्यक्रम नै हँुदैन । प्रायः सबै उमेरका महिला र पुरुष यसैमा झुमेका छन्, सेवन गर्न केवल बहाना चाहिएको छ ।

धार्मिक मान्यताअनुसार पनि यसको सेवनलाई उचित र उपयुक्त मानिदैन । स्वास्थ्यको दृष्टिले पनि यो खराब छ । आर्थिक हिसाबले पनि यसबाट घाटा मात्रै हात लाग्छ । यसमा रहेको अल्कोहल र इथानोलले मस्तिष्कमा प्रभाव पार्छ र मान्छेलाई मदहोस बनाइदिन्छ । यसको सेवनले मस्तिष्कलाई शिथिल र अचेत गराउनुको साथै आफूले गरेको कार्यको प्रकृति र त्यसबाट सृजित परिणामको विचार गर्नै नसक्ने बनाइदिन्छ । तैपनि यसको प्रयोगमा व्यापक बृद्धि हुँदै गइरहेको छ ।

यसको प्रयोग विशेष गरी तनावको स्थितिमा, खुशीयालीमा, सरकारी अड्डामा काम मिलाउन, ठेक्कापट्टाको वातावरण मिलाउन गरिन्छ । परम्परागतरुपमै केही जातीय समूहको धार्मिक र सांस्कृतिक पर्वमा अनिवार्यरुपले यसको प्रयोग गर्ने प्रचलन रहेको पाइन्छ । सगुनको रुपमा समेत यसको प्रयोग हुने गर्छ । कहिलेकाहीँ गाउँघरको झगडामा पनि रक्सीको बोतल र दाम राखेर मिलाउने चलन छ । यसको पारखीहरू अनेक बहानामा यसको प्रयोग गर्ने गर्छन् ।
सामाजिक परिवेश बदलिएको छ । हिजोको दिनमा पहाडमा पानी खान माग्दा जाँडरक्सी खाने हो भनी सोधिन्थ्यो रे । अहिले तराईका पसलहरूमा चियाको सट्टा बढी मात्रामा रक्सी पाइन थालेको छ । गाउँ, टोल, शहर र बजार यत्रतत्र रक्सीका डिलर र भट्टी पसल देखिन्छन् । विहारमा मदिरा निषेध गरिएपछि सीमावर्ती क्षेत्रमा यसको व्यापार मौलाएको छ ।

नकारात्मक पक्षको प्रधानता रहेको यसको प्रयोगले मुख तथा घाँटीको क्यान्सर हुने जोखिम तीन गुणा बढी छ । यसको प्रयोगले स्ट्रोक, मुटुरोग, उच्च रक्तचाप बढ्ने, पाचनक्रियामा गडबडी हुने, अनुहार फुल्ने, छाला चाउरिने, निराशा बढ्ने, स्मरणशक्ति ह्रास भएर जाने स्थिति छ । मदिरामा भएको क्यालोरीले मोटोपन बढ्नुका साथै कलेजो, नसा, पेट र दिमागमा नराम्रो असर पार्छ । जन्डिस, मधुमेह र उच्च रक्तचाप हुनेहरूका लागि यो विषसमान छ भन्ने कुरा विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।

दुःखको कुरा, यो देशमा नाबालकलाई समेत रक्सी र चुरोट बेचिन्छ । साँझ परेपछि औषधि पसलहरू बन्द हुन्छन् तर भट्टी पसलहरू चम्कन्छन् । मदिरा ऐन २०३१ को दफा ४, (क) को २ र ३ नं. ले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिले र उमेर नपुगेका व्यक्तिलाई मदिरा बिक्री वितरण गर्नु नहुने उल्लेख छ । तर समाजमा ऐनको मनसाय विपरीतका क्रियाकलाप भइरहेका छन् । दण्डहीनता बढेको छ ।

रक्सी उद्योगीहरू रक्सीको उत्पादन र व्यवसाय विस्तारका लागि सरकारलाइ दबाब दिन्छन् भने सरकार राजस्व वृद्धितर्फ अग्रसर हुन्छ । जहाँ मानवस्वास्थ्य र मानवीय संवेदनाको कुनै मूल्य हुँदैन । मानवीय स्वास्थ्यमा हुने लगानीतर्फ सरकारले ध्यान दिएको छैन । सरोकारवालको सामाजिक उत्तरदायित्व पनि देखिएन । एकातर्फ यसबाट सरकारले एक खर्बको हाराहारीमा राजस्व उठाउँछ भने अर्कोतर्फ मानवीय स्वास्थ्यमा गम्भीर हानि हुनुका साथै यसको निर्माणमा ठूलो मात्रामा अन्नको नाश हुन्छ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुको प्रमुख कारणमध्ये यो पनि एक हो । यसले समाजका साथै घरपरिवारमा नकारात्मक असर परेको छ । घरझगडा, सम्बन्ध विच्छेद, व्यभिचार, दुर्घटना, सामाजिक अपराध र भ्रष्टाचार बढ्दै गएको छ । घरेलु हिंसाको प्रमुख कारण यो पनि भएको छ । यसको बढ्दो र खुल्ला प्रयोगले घरपरिवारलगायत समग्र समाज आक्रान्त बन्दै गएको छ । धूमपान, सुर्तीसेवन तथा लागूपदार्थको दुव्र्यसनसँगै रक्सी उत्पादन, उपभोग र बिक्री वितरणले समाजलाई नजानिदो पाराले असभ्यता र अधोगतितर्फ धकेलिरहेको छ ।

अब ढिलो नगरीकन रक्सीलगायतका चुरोट र खैनी उद्योगलाई निरुत्साहित गर्नै पर्छ । यसको विज्ञापनमा पूर्णरुपले रोक लगाइनुका साथै व्यवहारिक रुपमै नाबालकलाई रक्सी, चुरोट र खैनीको बिक्री वितरण र सेवनमा रोक लगाउनै पर्छ । देशभरि नै मा.प.से. जाँचलाई सशक्त र व्यवस्थित गरिनुपर्छ । यससँग सम्बन्धित कानुनलाई प्रभावकारी र कडाइका साथ कार्यान्वयन गरिनुपर्छ ।

स्मरण रहोस्, भारतको विहार राज्यमा मदिरा निषेध गर्नुका साथै विहारलाई मदिरा र नशामुक्त राज्य घोषणा गरिएको छ । यो भारतको मदिरामुक्त चौथो राज्य बन्न पुगेको छ । त्यसको सकारात्मक प्रभाव त्यहाँको सामाजिक र सांस्कृतिक क्षेत्रमा देखा पर्न थालिसकेको छ । राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए समाजको सकारात्मक रुपान्तरण हुन धेरै समय लाग्दैन भन्ने उदाहरण हो विहार । एउटा सभ्य र सुसंस्कृत अनि शान्तिपूर्ण समाज निर्माणका लागि हामीले यस विषयमा विहारबाट सिक्ने पो हो कि ।

प्रतिक्रिया दिनुहोस्