रमेश समदर्शी, बिर्तामोड

झापा–११ का स्ट्राइकर कर्ण लिम्बूले शनिबार सम्पन्न चौथो अन्तर्राष्ट्रिय शरणार्थी च्यालेन्ज कपमा सीएपसी कतारबाट खेले। उनको टिमले उपाधि पनि उचाल्यो। यसअघि प्रथम शरणामती गोल्डकपको फाइनलमा पनि उनले खेले। त्यहाँ उपविजेता बन्यो उनको टिम।

त्यस्तै, प्रवेश कटुवाल झापा–११ का कप्तान हुन्। उनले पनि शरणार्थी च्यालेन्ज कपको उद्घाटन खेलमा पूर्वेली युवा क्लब बिर्तामोडबाट खेले। पहिलो चरणबाटै उनको टिम बाहिरिए पनि उनको हार भएन। किनभने कर्ण र प्रवेश दुवैले त्यो प्रतियोगितामा खेप खेलेका थिए। राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरले पनि शरणार्थी गोल्डकपमा चर्च ब्वाइज युनाइटेडका तर्फबाट खेले। विमलले यसअघि पूर्वेली युवा क्लब बिर्तामोडका तर्फबाट शरणार्थी च्यालेन्ज कप पनि खेले। यी दुवै खेलमा उनीहरूको खेप खेल थियो।

झापा–११ का प्रवेश, कर्णमात्र होइनन् विशाल राई, देवेन्द्र तामाङ, सुमिन मैनाली जस्ता भरपर्दा खेलाडी अहिले अनुबन्धनमा छैनन्। राष्ट्रिय लिगताका एक वर्षका लागि अनुबन्धमा रहे पनि त्यसपछि उनीहरू फुकुवामा छन्। कुनै प्रतियोगितामा झापा–११ ले भाग लिँदा पनि कन्ट्रइक बेसमा खेल्ने गरेको उनीहरू बताउँछन्। त्यसैले उनीहरू विभिन्न टिमबाट खेलिरहेका छन्।

खासमा खेप के हो त? झापा–११ का कप्तान प्रवेश भन्छन्– यो भारतमा बोलिने भाषा हो। उनका अनुसार आफ्नो सेट टिमभन्दा बाहिरको टिममा मिसिएर खेल्नुपर्दा खेप खेलेको भनिन्छ, खेलाडीबीच। खेपमा प्रत्येक खेलबापत खेलाडीलाई निश्चित रकम तोकिएको हुन्छ स्तरअनुसार।

नेपालमै फुटबल खेल व्यावसायिक बन्ने क्रममा रहेकाले यसैबाट जीवन धान्न गाह्रो छ खेलाडीलाई। व्यावसायिकरूपमै खेल खेलिरहेका खेलाडीलाई त राष्ट्रिय लिग नहुँदा खेपकै भरमा चलेको छ उनीहरूको परिवार। लिग नहुँदा खेपको भर हो, यसको विकल्प छैन, प्रवेश भन्छन्– कि त पेसा परिवर्तन गर्नुपर्यो, कि विदेश हानिनुपर्छ।

खेप खेल्ने झापाली खेलाडीमा अग्रपङ्क्तिमा आउँछ कर्ण लिम्बूको नाम। उनको पनि प्रवेशकै जस्तो धारणा छ खेपबारे। खेप नहुने हो भने झापाका खेलाडी पलायन भइसक्थे, उनले भने– मेरो खेल जीवन र परिवार खेपले धानेको छ। उनी दाबाका साथ भन्छन्– मेरो आम्दानीको स्रोत ८० प्रतिशत खेपबाटै भएको हो।

फुटबल खेलेरै कर्णले घर बनाएका छन्। अरू खेलाडी संयुक्त परिवारमा बसेका छन् तर कर्ण छुट्टिएर आफ्नै कमाइले घर बनाएको बताउँछन्। तीन लाख रुपियाँले जग खनेको हो अहिले ३० लाखको घर बनाएँ, उनले भने– मेरो आउने बाटो भनेकै फुटबल खेलेर हो, त्यसमा खेपले महत्त्वपूर्ण स्थान ओगटेको छ।

नेपाल र भारतमा हुने फुटबल प्रतियोगिताबाट मात्र वार्षिक पाँच लाख कटाउने गरेको उनी सुनाउँछन्। कम्तीमा पनि ३–४ लाख त हुन्छ। –उनी खुसीका साथ भन्छन्। लिग नहुँदा पनि उनलाई गाह्रो भएको छैन परिवार धान्न। कारण सुनाउँदै उनले भने– खेपले बाँचेका छौं, भारत जान्छौं डेढा हुन्छ, प्यासनलाई पनि साथ मिल्छ कमाइ पनि।

राष्ट्रिय लिग नहुनु अनि जिल्लामा पनि फुटबलको गतिविधि शून्य हुँदा खेलाडी पलायन हुँदै गएको प्रवेश सुनाउँछन्। मनाङका पूर्वखेलाडी शिव श्रेष्ठ, अमिर श्रेष्ठ कतार भासिएको उदाहरण दिएका प्रवेशले धन्न पूर्वका खेलाडी विदेशिनु नपरेकोमा खुसी व्यक्त गरे।

पूर्वको मोरङ, सुनसरी र झापाका खेलाडी खेपका भरमा चलेका छन्। विशेष गरी झापाका खेलाडीले कोलकाता, असाम, त्रिपुरा, पश्चिम बंगाल क्षेत्र, कालिम्पोङ, दार्जिलिङ र सिक्किमलगायतका शहरमा हुने फुटबल प्रतियोगितामा खेप खेल्दै आएका छन्। खेप खेल्ने खेलाडीको सूचीमा कर्ण, प्रवेशबाहेक योगेश गुरुङ, विशाल राई, दिनेश थापामगर, नरेन लिम्बू, सुमिन मैनाली, देवेन्द्र तामाङलगायत खेलाडी पर्दछन्। खेपले आर्थिक पाटोमा मात्र समर्थन गरेको छैन, उनीहरूको खेल जीवनलाई पनि निरन्तरता दिएको छ। खेप खेल्दा जहिल्यै फिट भइन्छ, ट्रेनिङ पनि आवश्यक छैन, कर्णले भने– व्यावसायिक खेलाडी बन्न फिट हुनु जरुरी छ।

LEAVE A REPLY