सपोर्ट माइक्रो फाइनान्स र एनएमबि क्यापिटलबीच सम्झौता



काठमाडौं, (नेस)

सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाले सर्वसाधारणको लागि छुट्याएको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो सम्बन्धी सम्झौतामा सपोर्ट माइक्रो फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रलाल ढकाल तथा निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गर्नुभएको छ। उक्त हस्ताक्षर कार्यक्रममा सपोर्ट माइक्रोफाईनान्सका अध्यक्ष अशोककुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो। सुनसरीको इटहरीमा स्थापना भएको सपोर्ट माइक्रो फाईनान्सको हाल अधिकृत पुँजी १५ करोड र जारी पुँजी ६ करोड रुपियाँ रहेकोमा संस्थापकबाट ४ करोड ८० लाख चुक्ता भइसकेको छ भने सर्वसाधारणलाई १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पु्ँजी ६ करोड रुपियाँ पुग्नेछ।१० जिल्ला कार्यक्षेत्र रहेको सस्थामा हालसम्म १९ करोडभन्दा बढी कर्जा लगानी गरिसकेको छ।

त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ३८ सय जना सदस्यलाई लघुकर्जाको सेवा प्रदान गरेको छ। चालू आर्थिक वर्षको चैत्र मसान्तभित्रमा नै शेयर जारी गरिसक्ने वित्तीय संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्