गाविसको खातामा रकम जम्मा सचिव अझै फरार



विमल विष्ट, डोटी
सामाजिक सुरक्षा भत्तासहित ६८ लाख २० हजार २ सय ४४ रुपियाँ लिएर फरार भएका डोटीको पोखरी तथा जिजौडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले गाविसको खातामा केही रकम जम्मा गरेका छन्। उक्त दुई गाविसको जिम्मा पाएका सचिव सिंहले गएको मंसिर २९ गते मात्रै दुवै गाविसका लागि ३७ लाख ४९ हजार ६ सय २३ रुपियाँ बैंकमा जम्मा गरेका हुन्।

डोटीको पोखरी र जिजौडामाडौं गाविसको सामाजिक सुरक्षा भत्तासहित ६८ लाख २० हजार २ सय ४४ रुपियाँ हिनामिना गरेर फरार भएका गाविस सचिव सिंह फरार अवस्थामै रकम फिर्ता गर्न थालेको जिल्ला विकास समिति डोटीले जनाएको छ। उहाँले मंसिर २९ गते पोखरी गाविसको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सिलगढीमा रहेको पुँजीगत खाता नम्बर ग २१४१ मा दीपक नामबाट १३ लाख ३१ हजार ८ सय ५२ रुपियाँ जम्मा गरेको बताइएको छ।

पोखरी गाविसकै चालू खाता नम्बर ग २२३९ मा दीपक नामबाटै ११ लाख ६१ हजार ४ सय रुपियाँ जम्मा गरेको जिल्ला विकास समिति डोटीले जनाएको छ। सचिव सिंहले पोखरी गाविसको ३८ लाख ४४ हजार ७ सय ४३ रुपियाँ हिनामिना गरेका थिए। अब उहाँले उक्त गाविसको मात्रै १३ लाख ५१ हजार ४ सय ९१ रुपियाँ बुझाउन बाँकी रहेको जिल्ला विकास समिति डोटीका कार्यक्रम अधिकृत टेकबहादुर खड्काले बताउनुभयो।

त्यसै गरी सचिव सिंहले जिजौडामाडौं गाविसको राष्ट्रिय वाणिज्य बैंक सिलगढीमा रहेको पुँजीगत खाता नम्बर ग २२०८ मा दीपककै नामबाट १२ लाख ५६ हजार ३ सय ७१ रुपियाँ जम्मा गर्नुभएको छ। जिजौडामाडौं गाविसको २९ लाख ७५ हजार ५ सय १ रुपियाँ हिनामिना गरेका गाविस सचिव सिंहले जिजौडामाडौं गाविसको अब १७ लाख १९ हजार १ सय ३० रुपियाँ बुझाउन बाँकी रहेको बताइएको छ।

गाविस सचिव सिंहले पोखरी र जिजौडामाडौं गाविसको सामाजिक सुरक्षा भत्तासहित ६८ लाख २० हजार २ सय ४४ रकम बुझेर फरार रहेका थिए। दुई ओटै गाविसको सामाजिक सुरक्षा भत्तासहित सञ्चालन खर्चको रकम उहाँले जुवामा हारेको आरोप लागेको छ। उहाँ गएको कात्तिक महिनादेखि सम्पर्कमा नभएको जिल्ला विकास समिति डोटीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले बताउनुभयो। उहाँले भन्नुभयो– गाविसको रकम हिनामिना भएको देखिन्छ, सचिव हाम्रो सम्पर्कमा छैनन् रकम भने जम्मा भएको जानकारी पाएका छौं।

प्रतिक्रिया दिनुहोस्