गाईभैंसीको सुत्केरीखर्च लिन हानथाप



दुर्गाप्रसाद शर्मा, पर्वत
डेढ दशकदेखि व्यावसायिक रूपमा गाई पाल्दै आएका कटुवाचौपारिका रामचन्द्र लामिछानेले पहिलोपटक गाईले सुत्केरी भत्ता पाउने खबर पाए। आवश्यक कागजात पुर्याएर जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिएका छन्। पहिलोपटक पाँचवटा सुत्केरी गाईको स्याहारका लागि भत्ता पाउने भइयो। अहिलेसम्म यस्तो सुनेकै थिइनँ। खुसी लागेको छ। त्यो पैसाले गाईको स्याहारमा लगानी गर्छु –उनले भने।

२०७२ को जिल्ला परिषद्ले गाईभैंसीपालक किसानलाई प्रोत्साहन गर्न प्रत्येक गाईभैंसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको थियो। जिल्लाको निर्णयलाई प्रशंसनीय भन्दै पशु सेवा निर्देशनालयले यो वर्ष सय पशुका लागि प्रति पशु २ हजार ५ सय रुपियाँका दरले सुत्केरी भत्ता दिन बजेट पठाएको छ। हाम्रो निर्णयलाई विभागले राम्रो रेस्पोन्स गरेर यो वर्ष परीक्षणका रूपमा केही पैसा पठाउने भएको छ, पशु चिकित्सक विमलप्रसाद शर्माले भने– यसबाट किसानहरू निकै उत्साहित भएका छन्। सय पशुको कोटामा दोब्बर बढीको निवेदन परेको भए पनि विभागको परिपत्रअनुसार पहिला आउनेलाई प्राथमिकता दिइने उनले बताए। सुत्केरी खर्च दाबी गर्नका लागि दर्ता गरिएको पशु फर्म, सहकारीमार्फत् दूध बिक्री गरेको प्रमाण र बीमा अनिवार्य गरिएको हुनुपर्ने व्यवस्था छ।

जिल्लामा पशुपालक किसान कम हुँदै जानु, जन्मिने बित्तिकैका पाडाबाच्छा नपाल्दा गाईभैंसीको समस्या मुख्य रूपमा बढ्ने लगायत समस्या निराकरणका लागि गत वर्षदेखि सुत्केरी भत्ता दिने निर्णय जिल्ला परिषद्ले गरेको थियो। परिषद्को निर्णयअनुसार भैंसीपालक किसानले कृत्रिम गर्भादान गराएर सुत्केरी भएका भैंसीलाई ५ सय रुपियाँ थप पाउँछन्। केन्द्रीय अनुदानका लागि केही बढी सीमा छन्। यहाँको रकमको हकमा पाडापाडी हुर्काएको हुनुपर्छ। यो शुरूआत मात्रै हो। अर्को वर्ष केन्द्रको कोटा पक्कै थपिन्छ –वरिष्ठ पशुविकास अधिकृत सुधीर थापाले भने। गाईभैंसी ब्याउनेबित्तिकै पौष्टिक आहारा दिन सके छिटो बाली जाने र किसानले पाठाबाच्छा हुर्काउन प्रोत्साहन मिल्ने भएकाले यो योजना निरन्तर लागू गर्न सके पाँच वर्षभित्र जिल्ला पशुपालनमा निर्भर गराउन सकिने थापाले दाबी गरे।

पशुपालक किसानहरूले यो योजना आकर्षक भएकाले सीमित कोटा निर्धारण गर्दा न्यायोचित नहुने बताएका छन्। कसैले पाउने कसैले नपाउने गर्दा अन्याय हुन्छ, कटुवाचौपारीका गोपी शर्मा लामिछानेले भने– निवेदन परेका सबैलाई निष्पक्ष मूल्याङ्कन गरेर रकम दिए सबैलाई प्रोत्साहन हुन्छ। पशुपालक किसानहरूले अनुदानको रकम सहज वितरण हुनुपर्ने माग गरेका छन्।

सुत्केरी भत्ता पाइने भएपछि सदरमुकामस्थित सहकारीहरूमा सिफारिस बनाउनेको पनि भीड बढेको छ। सहकारीमा आबद्ध नभएका व्यक्तिहरू पनि भत्ता पाइने भन्दै सिफारिस बनाउन आएको सहकारी सञ्चालकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्