विभागीय टोलीको निरन्तर जित



काठमाडौं, (नेस) सातौं राष्ट्रिय खेलकुद–२०७३ अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले सोमबार जितलाई निरन्तरता दिएका छन्।

सुनसरीको दुहबी रंगशालामा भएको खेलमा प्रहरीले पश्चिमाञ्चलमाथि ४–० को जित निकाल्यो। विजयी टिमका लागि प्रतियोगिताकी वुमेन अफ दि म्याच यशोदा लामाले खेलको १९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन्। २९औं मिनटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन्।

यस्तै टोलीलाई मजबुत पार्ने क्रममा सृजना खड्काले खेलको ४६औं मिनेटमा थप गोल थपिन् भने ५७औं मिनटमा मञ्जु गुरुङले गोल गर्दै टोलीको जित सुनिश्चित पारिन्।

अर्को खेलमा आर्मीले पूर्वाञ्चललाई ३–० ले हरायो। आर्मीका लागि सुष्मिता तामाङले १५औं मिनेटमा गोल गरिन्। खेलको ५४औं र ७०औं मिनेटमा इन्दिरा राईले गोल गर्दै आर्मीको जित पक्का गरिन्। आर्मीकी इन्दिरा राई वुमन अफ द म्याच चुनिइन्।

प्रतिक्रिया दिनुहोस्