सभामुखले डाकिन् तीन शीर्ष नेताको बैठक



काठमाडौं, (नेस) व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावसँगै विभाजित भएको प्रमुख राजनीतिक दलहरूलाई सहमतिमा ल्याउन सभामुख ओनसरी घर्तीले तीन दलको बैठक बोलाउनुभएको छ। सहमति निर्माणका लागि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएका सभामुख घर्तीले तीन दलका शीर्ष नेताहरूसँग संयुक्तरूपमा छलफल गर्न लाग्नुभएको हो। सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेपछि सहमति निर्माणको लागि सभामुख बैठक बोलाउनुभएको छ। संसद् बैठक बस्नुअघि उहाँले आज (सोमबार) नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतालाई छलफलमा बोलाएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताउनुभयो।

तीन सातादेखि अवरुद्ध संसद् सुचारु गर्न सभामुखले दलहरूबीच संसद् सुचारु गरेर निकास चाहेको शर्माले बताउनुभयो। सभामुखले लामो समय संसद् बैठक अवरुद्ध गर्दा राम्रो सन्देश नजाने भन्दै तीन दलबीच सहमति भए संविधान संशोधन विधेयक सोमबार नै टेबुल गर्ने गृहकार्य गर्नुभएको छ। यसअघि सभामुख घर्तीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर सहमति गरेर अगाडि बढ्न आग्रह गर्नुभएको थियो। तर, तीन दलबीच भएको भेटवार्तामा सत्ता पक्ष र प्रतिपक्षी दलले आ–आफ्नै अडान दोहोर्याउँदा सहमति जुट्न सकेको छैन।

संविधान संशोधन प्रस्ताव स्थगित गरेर स्थानीय निकायको निर्वाचनमा जाने प्रमुख तीन दलबीच सहमति भएको भनिए पनि शनिबार बसेको सरकार–मधेसी मोर्चाको बैठकले संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो। सरकार प्रस्ताव अगाडि बढाउने र प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नलिएसम्म संसद् चल्न नदिने अडान लिएका छन्। संविधान संशोधन प्रस्तावलाई सत्ता पक्ष र विपक्षी दलले आफ्नो प्रतिष्ठाको मुद्दा बनाएका छन्। संविधान संशोधनविरुद्ध एमालेले सदन र सडक दुवैतर्फबाट आन्दोलन गर्दै आएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सहमतिका साथ अगाडि बढ्न आग्रह गर्न बोलाएको सर्वदलीय बैठकमा पनि दलहरूबीच सहमति जुटन नसकेपछि सभामुख घर्तीले सहमति खोज्न लाग्नुभएको छ। सरकारले एमाले सहमतिमा नआए संविधान संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्