मंगोलियाका विदेशमन्त्री काठमाडौंमा



नेपाल समाचारपत्र
काठमाडौं

भू–परिवेष्ठित मुलुकले छिमेकी मुलुक हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पाउने व्यापार, बाणिज्य, पारवहनजस्ता विषयको हक र त्यस्ता विषयको दीर्घकालीन सहजीकरणका लागि मंगोलियाले पहल अघि बढाउने भएको छ।

मंगोलियाले भू–परिवेष्ठित मुलुकलाई एउटै सञ्जालमा आबद्ध गर्ने उद्देश्यका साथ इन्टरनेसनल थिंक ट्यांक फर लेन्डलक कन्ट्रिज स्थापनाको पहलअघि बढाएको छ। यही सन्दर्भलाई जोड्दै मंगोलियाका विदेश मन्त्री सेन्ड मुन्ख ओर्गिल नेतृत्वको उच्च स्तरीय टोली आइतबार नेपाल आएको छ। भू–परिवेष्ठित मुलुकहरूमध्ये नेतृत्वदायी भूमिका साथ अघि बढ्ने पहलमा रहेको मंगोलिया थिंक ट्यांकको अवधारणालाई छिटै कार्यान्वयमा ल्याउन चाहन्छ–परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने।

नेपालसहित विभिन्न ४७ मुलुक भू–परिवेष्ठित मुलुकको सूचिमा छन्। विदेश मन्त्री ओर्गिलसहित मंगोलियन संसद्का सदस्य र सो मुलुकका विदेश मन्त्रालयका उच्च अधिकारी ३ दिने नेपाल भ्रमणमा आउँदै छन्। सो मुलुकको लगानी नेपाल भित्र्याउन सकिने संभावनाबारे परराष्ट्र मन्त्री महत र विदेश मन्त्री ओर्गिलबीच सोमबार शिष्टाचार भेटवार्ता हुँदै छ। बौद्ध धर्मावलम्बीहरूको मुलुक मंगोलियाले लुम्बिनीलगायतका क्षेत्रमा आफ्नो मुलुकका धार्मिक पर्यटक भित्र्याउन इच्छुक रहेको परराष्ट्रका अधिकारीहरू बताउँछन्। नेपाल र लुम्बिनीलाई मंगोलियनहरू ठूलो धार्मिक पुन्यभूमि मान्छन्, उनीहरूको चासोलाई नेपालले अहिले सम्बोधन गर्न सक्यो भने हामीलाई ठूलो उपलब्धी हुन सक्छ –सो मन्त्रालयका एक अधिकारीले भने।

विदेश मन्त्री ओर्गिलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तीसँग छुटाछुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री महतको निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनुभएको हो।

प्रतिक्रिया दिनुहोस्