संविधान संशोधन प्रस्तावलाई पारित गर्छौंः महतो



नेपाल समाचारपत्र
काठमाडौं

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई उपलब्धिका रूपमा लिएर पारित गर्ने गरी पहल गर्ने बताउनुभएको छ। उहाँले झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्ने बताउँदै अहिले पाएका उपलब्धिलाई संस्थागत गर्दैपछि ५ जिल्लाका लागि लड्ने बताउनुभयो। राजधानीमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महतोले एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको प्रस्तावलाई सरकारले अहिले संविधान संशोधनको प्रस्तावमा ल्याउन किन बेठीक हुन्छ ? भन्ने प्रश्न गर्नुभयो। ओलीजीले आफूले हस्ताक्षर गर्दा राष्ट्रवादी हुने, अनि अहिले त्यही प्रस्ताव अघि सार्दा राष्ट्रघाती हुन्छ ?, उहाँले भन्नुभयो।

महतोले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा जानबाट अवरोध गरेर प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर गल्ती गरिरहेको आरोप लगाउँदै संशोधन प्रस्तावलाई संसद्मा छिर्नै नदिने कुरा संसदीय मूल्य र मान्यताको खिलाफमा भएको बताउनुभयो। प्रस्तावबारे संसद्मै छलफल गर्नुपर्छ, संसदीय प्रक्रियामा संसद्मा विरोध गर्न पाइन्छ, संसद्मै ल्याउन नदिने कुरा अप्रजातान्त्रिक हो, उहाँले भन्नुभयो।

महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्नेहरूलाई मधेसमा नाङ्गोझार पार्ने चेतावनी दिँदै भन्नुभयो, यो प्रस्तावलाई परिमार्जनसहित संसद्मा अघि बढाउँदा यसको विरोध गर्नेहरूको विरोधमा मोर्चा जान्छ, सडकमा दबाब दिन्छ, नाङ्गोझार पार्छ, मधेसमा एमालेजस्ता पार्टीहरू टिक्न सक्दैनन्, त्यसपछि मधेसी जनताले एमालेमुक्त मधेशको निर्माण गर्न सक्छ, त्यहाँका जनताले एमालेलाई टिक्न दिँदैनन्, अनि एमाले संशोधन गर्न तयार हुन्छ।
संविधान संशोधन भएपछि मात्र निर्वाचन हुनसक्ने बताउँदै संविधान संशोधन गरेर निर्वाचन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। संविधान संशोधन नै गर्न हुँदैन भनेर कृत्रिम रूपमा सडकमा सवाल उठाइएको बताउँदै भन्नुभयो, संविधान कुरान, बाईबल, महाभारत होइन, यो लचिलो विषय हो, सिमांकन त झनै जनताको मागअनुसार परिवर्तन हुने कुरा हो, सिमांकन परिवर्तन भयो भने राष्ट्र विखण्डन हुन्छ भन्ने कुरा गैरजिम्मेवार कुरा हो, यी सबै संघीयता विरोधी अभिव्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्