महिला हिंसाका घटना बढे



दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वत जिल्लामा मानव अधिकार उल्लंघनका घटनामा महिला हिंसाका घटना बढी पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०१७ को पूर्वसमीक्षा कार्यक्रममा प्रस्तुत गरेको तथ्याङ्कले अन्य घटनाको तुलनामा पर्वतमा महिला हिंसाका घटना बढी देखिएको हो।

इन्सेकले दिएको जानकारीअनुसार यस वर्ष मानव अधिकारका घटना बढेको देखाएको हो। २०१६ मा मादक पर्दाथ सेवन गरी श्रीमतीलाई कुटपिट भएका ३६ वटा घटना भएका छन् भने बहुविवाहका २९, शंकाउपशंका गरी महिलामाथि कुटपिट भएका घटना ५२ वटा छन्। श्रीमान्ले नागरिकता नदिएको तथा विवाह दर्ता नगरेको ७ वटा घटना भएका छन् भने झुक्काएर सम्बन्ध विच्छेद गरेको एउटा घटना भएको छ। यो अवधिमा महिला तथा बालबालिका बेचविखनको १ उजुरी दर्ता भएको तथ्याङ्कले देखाएको छ। त्यस्तै ३ महिला जसमध्ये २ बालिका बलात्कृत, १ बालविवाहको घटना घटेका छन्।

सन् २०१५ मा भने मादक पदार्थ सेवन गरी महिलामाथि कुटपिट भएका घटनाहरू ७७, बहुविवाह ३२, श्रमिान् र परिवारका सदस्यले खानालाउन नदिएका घटना ४०, नागरिकता र विवाह दर्ता नपाएका उजुरी ९ वटा परेका थिए। विगतका वर्षका तुलनामा जिल्लामा मापसे, झैझगडालगायतका घटनामा कमी आएको देखिए तापनि जिल्लामा बेचविखन, बालविवाहको कलंक, बहुविवाह, महिला हिंसाका घटना भने अझै पनि नघटेको तथ्याङ्कले देखाएको इन्सेक प्रतिनिधि किशोर सापकोटाले बताए।

प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए। उनले जिल्लामा कुनै पनि अप्रिय घटना नभएको भन्दै जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनका लागि संयन्त्रहरू परिचालन गरी थप सशक्त बनाउने बताए।

सोही कार्यक्रममा श्रीमान्ले दोस्रो विवाह गरेपछि ६ वटा सन्तानकी आमाले ११ वर्षसम्म न्याय नपाएको भन्दै कार्यक्रममा गुनासो गरिन्। बार एसोसिएसनका अध्यक्ष विश्वराज पाण्डेले जिल्लामा मानव अधिकारका घटनाहरूमा कमी नआएको औंलाए। कार्यक्रममा अधिवक्ता दिलिपराज शर्मा, जगदीश शर्मा, हरि नारायण, उपभोक्ता मञ्चकी अध्यक्ष सरिता भण्डारी शरु, महिला मानव अधिकार रक्षकहरूको सञ्जालकी अध्यक्ष सीता केसीलगायतले जिल्लामा अझै पनि महिला तथा मानव अधिकारसम्बन्धी घटनाहरू नहटेको बताए। उनीहरूले जिल्लामा भएका घटनाहरूको सत्यतथ्य तथ्याङ्क राख्नका लागिसमेत सुझाए। नागरिक सञ्जाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नागरिक सञ्जालका सचिव यज्ञ अधिकारीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्