छोटी भन्सारमा व्यापारीको मिलेमतो



नेपाल समाचारपत्र
भद्रपुर

सरकारी पोसाक नलगाएका कारण छोटी भन्सार कार्यालय भद्रपुरका कर्मचारी र व्यापारीको पहिचान नहँुदा व्यापारीसँगको आपसी मिलोमतोले निरन्तरता पाइरहेको भेटिएको छ। छोटी भन्सारमा भष्ट्राचार र अनियमितता हुने गरेको विषयमा पटकपटक सञ्चारमाध्यममा समाचार आए पनि कारबाही गर्ने सम्बन्धित निकायले कुनै चासो नदेखाएका कारण समस्या थप हुँदै गएको हो।
भन्सारमा हुने गरेको गतिविधि बुझ्न बिहीबार भन्सार जाने क्रममा भन्सार कर्मचारीले भन्सारभित्र आफ्नै कानुन बनाएर काम गर्दै आइरहेको भेटिएको छ। भन्सारभित्र प्रवेश गर्दा भन्सारका कर्मचारी र व्यापारी छुट्याउन समस्या परेको थियो। सरकारी पोसाक भत्ता लिएका भन्सारका सबै कर्मचारीले सरकारी पोसाक लगाएका थिएनन्। भन्सार अधिकृतदेखि सबै कर्मचारी भिन्नभिन्न पोसाकमा थिए। सरकारी पोसाक नलगाउनेमा अधिकृत दीपेन्द्रकुमार झा, कम्प्युटर अधिकृत पारसमणि लामिछाने, नासुहरू राजेन्द्र ढुंगाना, खगेश्वर रेग्मी, सालिकराम ढुंगेल र लोकेन्द्र बम रहेका छन्।

त्यसै गरी खरदार दीपककुमार घिमिरे र खजान्सी रविलाल राजवंशी कार्यालय समयमा सरकारी पोसाकमा थिएनन। कार्यालयमा रहेका पाँच जना कार्यालय सहयोगीमा लरखरे धिमाल, लाहुरे धिमाल, हरि सापकोटा, ज्ञानेन्द्रबहादुर कार्की र नीरबहादुर कटवालले पनि सरकारी पोसाक लगाएको देखिएन। सरकारले वार्षिक रूपमा कर्मचारीको पोसाक भत्ताका लागि ७ हजार ५ सय दिने गरेकोमा भन्सार कर्मचारीले सरकारी पोसाकको सोजै दुरुपयोग गरिरहेका छन्। पत्रकारले स्थानीय व्यापारीको सहयोगमा भन्सारका कर्मचारी चिनेका थिए। भन्सार अधिकृत झा बन्दको समयमा सरकारी पोसाक लगाउँदा निसानामा परिने भएकाले नलगाएको बताउँछन्। सरकारले दिएको रकमले एउटा कोट पनि नआउने भएकाले यसको औचित्य नभएको उल्लेख गरे। अन्य कर्मचारीले पनि मंसिरको अन्तिम दिन घर जाने भएकाले सरकारी पोसाक नलगाएको बताए। कार्यालय परिसरमा भेटिएका अर्का कर्मचारीले सरकारले तोकेको कोट सुट लगाएर पोका गन्ने काम गर्न असजिलो हुने बताए।
सरकारले तोकेको पोसाक परिचयपत्र अनिवार्य कार्यालय समयमा लगाउनुपर्ने झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताए। अनुगमनका क्रममा नलगाएको फेला परेमा स्पष्टीकरण सोधिने प्रजिअ खत्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्