हङकङमा घन्कियो नेपाली गीत



लोकप्रिय गायक आनन्द कार्कीसहित नेपालबाट गएको कलाकारको टोलीका साथमा हङकङमा रहेका स्थानीय नेपाली कलाकारहरूले हङकङलाई नेपालमय बनाएका छन्। हङकङ नेपाल हिन्दु एसोसिएसनको आयोजनामा हङकङको यमुताई शहरमा भएको हङकङ गजल साँझ तथा विविध सांस्कृतिक कार्यक्रम नामक विशेष सांगीतिक कार्यक्रममा कलाकारहरूको टोलीले आ–आफ्ना प्रस्तुतिबाट हङकङलाई नेपालमय बनाएका हुन्।

यमुताईको कम्युनिटी हलमा आयोजित कार्यक्रममा यी हल्लाहरू हुन् गायक आनन्द कार्की आकर्षणको केन्द्रविन्दु बने। उनले आफ्ना नयाँ तथा पुराना हिट नम्बर गाएर हङकङबासी नेपालीलाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा सहभागी प्रवासी नेपालीहरू लामो समयको अन्तरालपछि गायक कार्कीसँगै नाचगानसहित रमाइलो गर्न पाउँदा निकै उत्साहित भएको हङकङबाट नेपाल समाचारपत्रका सहयोगीले जानकारी गराए। कार्यक्रममा नेपालबाटै पुगेका भजन गायक निर्मल सिलवालले भजन प्रस्तुत गरेर केही समय दर्शकलाई एकाग्र बनाए भने हङकङमै रहँदै आएका कलाकारद्वय नगेन्द्र श्रेष्ठ र हरि श्रेष्ठको सांगीतिक प्रस्तुतिमा पनि दर्शक रमाए।

कार्यक्रममा गीत संगीतका साथ हास्यव्यंग्य प्रस्तुति अर्को आकर्षण बनेको थियो। नेपालीहरूको ठूलो जमघटका साथ सम्पन्न कार्यक्रमको बीच–बीचमा हास्य कलाकार शिरोमणि दवाडीले प्रस्तुत गरेको हास्य नृत्य तथा एकल हास्यव्यंग्य प्रस्तुतिले दर्शकलाई पेट मिची–मिची हसाउन सफल भएको थियो। नेपाली धर्म, संस्कृति र गीत–संगीतप्रति आस्था राख्ने दर्शकले हङकङको सो कार्यक्रममार्फत् निकै लामो अन्तरालपछि भरपुर मनोरञ्जन लिएको आयोजकले जनाएका छन्।

नेपाल तथा प्रवासमा रहेका नेपालीबीच भावनात्मक सम्बन्ध बढाउँदै नेपाली सांगीतिक सिर्जनालाई प्रवासमा रहेका नेपालीबीच पुर्याएर संरक्षणमा पहल गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष गोमादेवी शर्माको भनाइ छ।

यसैबीच हङकङ–नेपाल हिन्दु एसोसिएसनले स्थापना तथा संरक्षण गरेको यमुताईको हिन्दु मन्दिरमा आगामि शनिबार र आइतबार २४ घन्टे अखण्ड भजन कीर्तन आयोजना गरिने भएको छ। पाँच वर्षअघि एसोसिएसनद्वारा हङकङमा स्थापना गरिएको हिन्दु मन्दिरले विभिन्न वार्षिक पर्वहरूमा धार्मिक अनुष्ठान, पूजापाठ तथा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्