संशोधन प्रस्ताव पास हुँदैनः भुसाल



बुटवल, (नेस)

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अव सरकारले अरू प्रदेशको समेत सीमाना हेरफेर गर्न नसक्ने बताउनुभएको छ। पाँच नम्बर प्रदेश विभाजन गर्न खोज्दा उठेको जनताको आन्दोलनले अब सरकारले अरू प्रदेशको सीमाना हेरफेर गर्नका लागि दश पल्ट सोच्न बाध्य बनाएको उहाँले टिप्पणी गर्नुभयो। ‘एउटा प्रदेश हेरफेर गर्न खोज्दा सरकारले अरू प्रदेशका लागिसमेत पाठ सिकेको छ –भुसालले भन्नुभयो।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो लुम्बिनीको १८औं वार्षिक साधारण सभा तथा अधिवेशनको मंगलबार रूपन्देहीको मणिग्राममा उद्घाटन गर्दै उपमहासचिव भुसालले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पास नहुने निश्चित भएको बताउनुभयो।

पाँच नम्बर प्रदेशका जनताले समेत यसलाई एकताबद्ध रूपमा अस्वीकार गरिसकेको र संशोधन प्रस्ताव पारित गर्न आवश्यक संख्या नपुग्ने निश्चित भइसकेको उल्लेख गर्दै उहाँले यदि पास भइहाले पनि त्यो लागू हुन नसक्ने जिकीर गर्नुभयो।
नेपालले दुई छिमेकी मुलुक चीन र भारतको आर्थिक विकासबाट लाभ लिन नसकेको उल्लेख गर्दै भुसालले आगामी १० वर्ष मुलुकमा यही अवस्था रहने हो भने चीन र भारतको सुरक्षा चासोलाई नेपालले थेग्न नसक्ने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्