अस्पतालको जग्गा खालि गर्ने तयारी



काठमाडौं, (नेस) राप्ति उपक्षेत्रीय अस्पताल घोराहीको आफ्नो मातहतमा रहेको जग्गामा भवन निर्माण गरेर बस्दै आएको गैरसरकारी संस्था आईएनएफलाई सो भवन प्रयोग नगर्न लिखित पत्रचार गर्ने स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ। त्यसका लागि मन्त्रालयमा बैठक बसी ठोस निर्णयमा पुगिने बताइएको छ।

स्वास्थ्य मन्त्रालयले अस्पतालको जग्गा प्रयोग नगर्न सम्बन्धित गैरसरकारी संस्थालाई आग्रह गरेको मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख डा. भोलानाथ श्रेष्ठले बताउनुभयो। प्रमुख श्रेष्ठले भन्नुभयो,–‘एक दुई दिनभित्रै अस्पताल प्रशासन र जिल्ला प्रशासनलाई भवन प्रयोग गर्न नदिन भनि पत्राचार गर्छौ र बोधार्थ सम्बन्धित गैरसरकारी संस्थालाई समेत पठाउँछौं। यस विषयमै छिट्टै निर्णय हुन्छ।  महाशाखाका प्रमुख श्रेष्ठले थप्नुभयो– ‘अस्पताल विकास समितिले लिखित रूपमा जग्गा खालि गर्न भनी मन्त्रालयमा चिट्ठी पठाइसकेको छ। कानुनी प्रकृयाअनुसार आईएनएफले भवन खालि गराउनैपर्ने हुन्छ।

अस्पतालको दुई कट्ठा जग्गामा आईएनएफ नामक संस्थाले ४० वर्षअघि भवन बनाइ निकै लामो समयदेखि प्रयोग गर्दै आएको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिले बताएको छ। भवन नसर्दा अस्पतालको विकास र विस्तारका लागी ठोस कार्यक्रमसमेत ल्याउन अप्ठेरो भएको अस्पताल विकास समितिका निमित्त मेडिकल सुपरिटन्डेन्ट डा. जनार्दन पन्थीले बताउनुभयो। करिब ३० वर्षदेखि आईएनएफले अस्पतालको जग्गामा भवन बनाइ प्रयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्